
काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ।
सिंहदरवारमा कार्यदलका नेताबिच सहमतिका लागि छलफल सुरु भएको पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट कार्यदलको संयोजक रहेका नेता सुवास नेम्बाङले जानकारी दिए। उनका अनुसार पार्टीको विवाद समाधानका लागि मंगलवार औपचारिक छलफल हुन लागेका हो।
ओली र असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई मिलाउन दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। उनीहरुको छलफल मार्फत समाधान हुन नसकेपछि कार्यदल मार्फत सहमतिको गृहकार्य सुरु भएको हो।
ओली समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री र प्रतिनिधिसभा विघटनको निर्णय विरुद्धमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका थिए। यस्तै, नेपाल समूहले प्रतिनिधि सभा विघटनको निर्णय ओलीले फिर्ता लिनुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन। दुवै नेताको अडान राजनीतिक प्रकृतिको मानेर थाति राखेर सहमतिको प्रयास भइरहेको छ।