मेलम्ची : नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीको पहलमा हेलम्बुका बाढी पीडितका लागि ५ लाख बराबरको सहयोग हस्तान्तरण गरिएको छ। आज हेलम्बु गाउँपालिका पुगेर नेता रायमाझीले गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सहयोग हस्तान्तरण गरेका हुन्।
सुन्दरहरैचा नगरपालिका, विराटचोक मोरङको सहयोगमा ३८ वटा टेन्ट उपलब्ध गराइएको छ। मेलम्चीमा आएको बाढीले घरवारविहीन भएकाहरूका लागि सो टेन्ट आवासको व्यवस्था सहज होस् भनेर हस्तान्तरण गरिएको नेता रायमाझीले जानकारी दिए।
उनले मेलम्ची बाढी पीडितका लागि आवश्यक पहलकदमी सरकारले नलिएको भन्दै सो विषय राष्ट्रिय सभा बैठकमा उठाउने र थप सहयोगका लागि पहल गर्ने पनि बताए। हेलम्बुको दुखमा साथ दिएको भन्दै सिन्धुपाल्चोक कांग्रेसका युवा नेता प्रेमध्वज लामाले सुन्दरहरैचा नगरपालिका र नेता रायमाझी प्रति आभार व्यक्त गरे।