PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

यस पटक पनि सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ : प्रचण्ड



यस पटक पनि सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापनाको विकल्प नभएको बताएका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलवार जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका हुन्।

‘पहिलोपटक पनि संसद् विघटन हुँदा सर्वोच्च अदालतले पुनर्स्थापना गराएकोले अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ’, उनले भने, ‘संसद् पुनर्स्थापना मात्रै गर्दैन, सर्वोच्च अदालतमा बुझाएको १४६ सांसदको हस्ताक्षरको आधारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्नेमा हामीलाई विश्वास छ।’

अध्यक्ष प्रचण्डले संविधानको मर्म र भावना अनुसार, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद् पुनर्स्थापनाको कुनै विकल्प नरहेको बताए। प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई दवाब दिन खोजेको बताउँदै उनले यसले ओली निरंकुशतातर्फ थप अग्रसर हुँदैछन् भन्ने प्रमाणित भइरहेको बताए।

उनले प्रधानमन्त्री ओलीतर्फ इंगित गर्दै भने, ‘उहाँ निरंकुशतातर्फ अगाडि बढ्दै हुनुहुन्छ, उहाँ नेपाली जनताको नजरमा एक निरंकुश र लोकतन्त्र विरोधी तत्वको रुपमा रहेको उजागर भइसकेको छ, उहाँले गरेर केही हुनेवाला छैन।’

प्रचण्डले संविधान त्रुटीपूर्ण रहेको स्वीकार गर्दै संविधान संशोधनको पक्षमा आफू रहेको बताए। संविधान त्रुटीपूर्ण रहेपनि वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा गर्ने दायित्व आफूहरुकै रहेको उनले बताए। उनले प्रदेश नम्बर २ को नाम मधेस रहनुपर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell