PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

एमाले विवाद सहमति नजिक : नेम्बाङ भन्छन् 'भोलि टुंगो लाग्छ'



एमाले विवाद सहमति नजिक : नेम्बाङ भन्छन् 'भोलि टुंगो लाग्छ'

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक रुपले अघि बढेको नेताहरुले दाबी गरेका छन्। बुधवारको बसेको कार्यदलको बैठक विवादित विषयको सहमति नजिक पुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए।

'कार्यदलको तेस्रो बैठक जे-जे विषयमा विवाद थिए ति विषयमा झण्डै-झण्डै सहमति नजिक पुगेका छौ,' उनले भने। बैठकले सकारात्मक परिणाम दिन लागेको उनको भनाई थियो।

'एउटा छोटो अवधिमा सार्थक परिणाममा पुर्‍याउन सक्छौ भनेर हामी कार्यदलको बैठकबाट विश्वास आर्जन गरेका छौ,' उनले भने।

कार्यदलको बैठकमा एमालेलाई २०७५ जेठ २ गतेमा फर्काउने सहमति भइसकेको छ। माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका नेता रामबाहादुर थापा बादल, टोपबहादुर रायमाझी लगायतलाई एमालेमै व्यवस्थापन गर्नेर विषयमा पनि सहमति जुटेको नेताहरुको दाबी छ।

'अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा फर्किसकेपछि पार्टी र जनसंगठन त्यही अवस्थामा पुर्‍याउने सहमति छ। माओवादीबाट आएकाहरुको एमालेमै व्यवस्थापन गर्ने सहमति भएको छ,' उनले भने।

तर, अदालतमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता र अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनका बारेमा भएको विवादबारे भने भाषा मिलाउन बाँकी छ। बिष्टले उक्त विवादबारे केही भाषीक कुराहरु मिलाएर सहमति गरिने बताए।

'अदालतमा परेको मुद्दाका बारेमा सहमति खोज्न हामी नजिक पुगिसकेका छौ। अविश्वासको खाडल कम भएको छ। एकले अर्काको समस्या बुझ्ने र सदभावका साथ अघि बढने कुरा भएको छ,' उनले भने।

कार्यदलका अर्का सदस्य सुवास नेम्बाङले पनि सहमतिको वातावरण बनेको बताए। उनले आजको छलफल परिणाम नजिक पुगेको भए पनि भोलि मात्रै टुंगो लाग्ने बताए।

एमालेको विवाद मिलाउन जेठ २ मा गठित कार्यदलको बैठक जेठ ७ गते बसेर निष्क्रिय भएको थियो। फेरि सोमवारबाट कार्यदलको बैठक बस्न सुरु भएको हो। लगातार ३ दिन एमलेका नेताहरुले विवाद मिलाउन कार्यदलमा छलफल गरेका छन्। त्यसअघि अनौपचारिक रुपमा छलफल भए पनि सहमति भने हुन सकेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell