PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सरकार कमिसन एजेण्टहरुको घेराउमा पर्दा खोप आउन सकेन : जितेन्द्र देव



सरकार कमिसन एजेण्टहरुको घेराउमा पर्दा खोप आउन सकेन : जितेन्द्र देव

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रियसभासदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पुर्ण रुपमा असफल भएको दाबी गरेका हुन्। अपरिपक्व कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उनले गरे।

दक्षिण एसियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्तर्गत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भइरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिँदै उनले नेपाल सरकार किन फेल भयो? भनी प्रश्न गरे।

राष्ट्रियसभाकी सदस्य कोमल वलीलाई इंकित गर्दै उनले खोप किन आउन सकेन भनेर आफूले देखेका सामान्य कुरा भन्दै गर्दा कुनै जनावरसँग तुलना नगर्न पनि आग्रह गरे। वलीले राष्ट्रियसभा सोमबारको बैठकमा सरकार विरोधी गठबन्धनलाई बाँदरको संज्ञा दिदै व्यंग्य कविता बाचन गरेकी थिइन्।

सांसद देवले वर्तमान सरकार कमिसन एजेण्टहरुको घेराउमा परेको दाबी पनि गरे। उनले कमिसनमा कुरा नमिलेका कारण कोभिडशिल्ड खोप आउन नसकेको दाबी गरे। सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोमेटिक डिलिङ फेलियर भएको उनको जिकिर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell