पोखरा : १७ वर्षीया किशोरीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा दुई महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ।
आर्थिक स्थिति कमजोर भएकी किशोरीलाई राम्रो काममा लगाइदिने आश्वासन दिएर जबर्जस्ती यौन क्रियाकलापमा संलग्न गरेको अभियोगमा कास्की प्रहरीले बुधवार दुई महिलालाई पक्राउ गरेको हो।
पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारस्थित होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र रुपा गाउँपालिका वडा नम्बर १० हंसपुर घर भई हाल पोखरा रामबजार बस्दै आएकी ४० वर्षीया आइतीमाया गुरुङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार सुरुवातमा आइतीमाया गुरुङले किशोरीलाई चिनेको होटलमा राम्रो काममा लगाउने आश्वासन दिएकी थिइन्। कामको खोजीमा रहेकी किशोरीले उनको प्रस्ताव सहजै स्वीकार गरिन्।
काम शुरु गरेको दुई दिनसम्म होटल सञ्चालक गौमती गुरुङले पनि राम्रो व्यवहार देखाइन्। तर, त्यसको दुई दिनपछि होटल सञ्चालक गुरुङले होटलमा खाजा खान आएका ग्राहकसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न बाध्य पारेको किशोरीको आरोप छ।
आफूमाथि यौन शोषण भएपछि पीडित किशोरीले प्रहरी कार्यालयमा उजुरी दिइन्। उनकै उजुरीको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। पीडित किशोरीलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ।