२०६७ कार्तिक ३० गते, मंगलवार बिहान। चाबहिल पुग्नु अघिसम्म रसु शाक्य सिङ्गो थिइन्। सबेरैको खाली सडकमा जोरपाटीबाट सररर… स्कुटरमा आइरहँदा उनमा कलेज पुग्ने हतारो बाहेक कुनै चिन्ता थिएन। तर, टेलिफोन कार्यालयको ठ्याक्कै अगाडि उनलाई ट्रकले ठक्कर दियो। अस्पताल पुर्याउँदा रसुको शरीर स्ट्रेचरमा थियो। देब्रे खुट्टा चाहिँ झोलामा!
शरीर नै छाडेको खुट्टा जोड्न मिलेन। त्यतिमात्र होइन, उनको दाहिने खुट्टा पनि काटेर फाल्नुपर्ने भयो। त्यतिबेला भर्खर १७ वर्षकी थिइन्, उनी। स्कुटर किनेको १० महिना भएको थियो। दुर्घटनापछि सायदै समयको हिसाब गरिन्, उनले। किनकि बाँच्नु ठूलो कुरा रहेछ।
अहिले त रसुको भोगाइ सन्देश बनेको छ - सडकमा हिँड्ने हरेकका लागि।
केही समयअघि बग्गीखानामा लेन अनुशासनको कक्षा चलिरहेको थियो। भित्तामा प्रोजेक्टरमार्फत् केही दृश्य चलिरहेका थिए। सडक अनुशासनको आवश्यकताबारे बोलिरहेका थिए प्रहरी नायब निरीक्षक हरिशरण पौडेल। उनले रसुको दुर्घटनालाई पनि उदाहरणको रुपमा पेश गरे, तस्विरसहित। एकाएक कक्षा लिइरहेको भिडमा कोही सुँक्सुकाउन थाल्यो। आँशु पुछिरहेकी ती महिलालाई थुम्थुमाउँदै थिए, सँगै बसेका एक पुरुष।
कक्षा सकियो। थाहा भयो, कक्षामा रुनेहरू रसुका आमाबुवा रहेछन्। लेन अनुशासन उल्लङ्घन गरेपछि कारबाहीमा परेका। 'लेन अनुशासन ठूलो अपराध होइन। गल्ती हो जसका कारण भवितव्य पर्नसक्छ। यति सरल कुरा बुझाउन घण्टा लामो क्लास दिनुपर्छ,' हरिशरण पौडेलले भने, 'झन् दुर्घटनाको ठूलो चोट बोकेकाहरूले नै यस विषयमा ध्यान नदिँदा थाहा हुन्छ, हामी सडक सभ्यतामा कति पछाडि छौं।'
हरिशरणसँग सडक अनुशासनको कक्षा सञ्चालन गर्नुको करिब १० वर्ष लामो अनुभव छ। त्यसभन्दा ठीक दश वर्षअघि २०५८ सालदेखि उनी ट्राफिक प्रहरीका रुपमा खटिएका थिए। त्यस अवधिमा उनी सडकसँग जति नजिक कसैसँग भएनन्। अनेक मानिस भेटे, घटना देखे। अनि यस्तै अनुभूति र उदाहरणको चाङ छन् उनीसँग।
+++
कति मोटरसाइकल आँखै अगाडि लड्छन्। यसरी लड्छन् कि मोटरसाइकल चलाउने मान्छे जिन्दगीभर आफ्नो बुताले उठ्न सक्दैन।
एकजना साहुको काठमाडौं बाहिर जाने रात्रीबस थियो। २०६२ सालतिर उनको गाडी नागढुङ्गा भन्दा तल भिरबाट खस्यो। दुर्घटनामा परेर मर्ने यात्रुको परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको उपचार गराएरै ती साहुको पुतलीसडकस्थित घर जग्गा सक्कियो। अहिले मधेशतिर बसाइ सरेका छन्।
कोही आउँछन् रक्सीको गन्ध बोकेर। प्रहरीले प्रश्न गर्नुअघि प्रहरीलाई नै सोध्छन् – ह्वाट् इज योर नेम?
यस्तै स-साना गल्ती र लापरवाहीले कसैलाई अस्पताल पुर्याउँछ अनि कसैलाई फर्कने बाटो नै नभएको ठाउँसम्म। कोही जीवनभर अङ्गभङ्ग हुनुको पीडा बोकेर बाँच्छन्, कोही आर्थिक भारको चपेटामा पिल्सिएर।
केही दिन अघिमात्रै, ग्वार्को चोकमा ड्युटीमा थिए हरिशरण। सिमसिम पानी परिरहेको थियो। हिलो बाटोमा एउटा स्कुटर हुत्तिएर आयो। हेर्दाहेर्दै चिप्लियो। चालक युवती घोप्टो परेकी थिइन्। उनी उठ्दा निधारबाट रगत बगिरहेको थियो। उनलाई तत्काल अस्पताल पुर्याइयो। निधारमा टाँका लगाउनु पर्यो।
'यस्ता स-साना दुर्घटनाहरूले दिने चोट केही दिनमा ठीक हुन्छ। दुख्न छोड्छ तर खत जीवनभर रहन्छ,' हरिशरणले भने, 'हरेक पटक मान्छेले त्यो दागबारे सोध्छन्। फेरि सम्झिनु पर्छ त्यही घटना। अनि फेरि लाग्छ – त्यस दिन अलि बिस्तारै गुडाएको भए!'
हामीकहाँ सडकहरू बिस्तारै ठूला अनि चिल्ला हुँदैछन्। उसैगरी बिस्तारै विकास भइरहेको छ सडक सभ्यता। काठमाडौंको सडकमा ट्राफिक लाइट जडान भएको कति नै भयो र? निकै पछिसम्म हामीलाई बत्ती हेरेर कुद्न र रोकिन गाह्रो भयो। अझै पनि सय मिटर बढी गुड्नुको साटो वान-वे मै बाइक घिसार्न तयार हुन्छौं। बीस पाइला परको जेब्रा क्रस निकै टाढा लाग्छ हामीलाई। पल्याकपुलुक हेरेर डिभाइडर नाघ्नु सामान्य बनेको छ। हामी यति अधैर्य छौँ कि अगाडिको गाडीले केही सेकेन्ड ढिला गर्दा हर्न निषेध क्षेत्रमै ट्याँट-ट्याँट् र टिट्-टिट् पार्न थाल्छौं। ढिला गर्नेलाई आँखा तर्नुमा र गाली गर्नुमा सन्तुष्टि भेट्नेहरू कति हो कति!
'साना-साना कुरामा चुक्छौँ हामी। अनि कारबाहीमा परे हामीलाई नै रीस उठ्छ,' पौडेलले भने, 'यी सबैबिच सबैभन्दा धेरै समस्या चाहिँ द्रुत गति र मादक पदार्थ सेवन गरेर सवारी हाँक्नुले निम्त्याउँछ।'
त्यही समस्या न्यूनीकरणका लागि २०६८ सालबाट हो, मापसे गरेर सवारी साधन चलाउनेहरूलाई बग्गीखानामा लगेर कक्षा दिने कार्यको सुरुवात भएको।
+++
मापसे जाँचमा दोषी सावित भएकाका लागि कारबाहीसहित कक्षा सञ्चालन गर्ने नीतिगत निर्णय भयो। सोही अनुरुप तयारी पनि। २०६८ सालको मंसिर १७ गते पहिलो कक्षा हुँदै थियो। त्यतिबेला न प्रोजेक्टर न प्रेजेन्टेसन। मौखिक रुपमै मादक पदार्थ सेवन गरेर सवारी चलाउँदाको जोखिम, त्यसले निम्त्याउने समस्या र दिने पीडाका बारेमा बुझाउने तयारी भयो। पचास जनालाई एकसाथ राखेर सम्झाउने योजना बनेको थियो। तर, पहिलो दिन नै जम्मा भयो करिब ३ सय मानिसको भिड।
कहाँ राख्ने? कसरी सुरु गर्ने?
कक्षा सुरु हुनुभन्दा केही घण्टा अघिको परिवेश सम्झन्छन् उनी - 'आफू बर्दीमा भएकाले होला त्यहाँ जम्मा भएका सबै मानिस ठूलै कसुर गरेर आएजस्तो लाग्यो। तीमध्ये एकजना मात्र भागे पनि विभागको कारवाही ड्युटीमा खटेकाहरूले भोग्नुपर्थ्यो। चुनौतिपूर्ण सुरुवात थियो त्यो।'
मापसे अनुशासनको कक्षाको पहिलो दिन। हिउँद लागे पनि भिडकै कारण हप्प थियो माहोल। घोसे मुन्टो लगाएर पसेका थिए प्राय। ठूलै गल्ती गरेर सजाय पाउन तयारहरू जस्तै देखिन्थे। हरिशरणका लागि पनि नौलो अनुभूति। कहाँ थियो र त्यो आत्मविश्वास? त्यसमाथि सबैकुरा मौखिक रुपमै बुझाउनु पर्ने बाध्यता।
‘प्रहरीभित्रको अनुशासनको प्रभाव त्यहाँ पर्यो। केहीबेरमै भिड सम्हालियो। तयारी मजाले गरेका थियौं त्यसैले प्रस्तुतिमा सोँचेअनुरुप जति आत्तिएका थियौं, त्यति अप्ठेरो भएन,’ उनले पहिलो दिनको अनुभव साटे।
रोचक त के भयो भने लाजले अनुहार छोप्दै बग्गीखाना पुगेकाहरु फर्किँदा दङ्ग पर्दै निस्किए। बिस्तारै कक्षा एकैदिन फरकफरक सिफ्टमा सञ्चालन हुन थाल्यो। ठूलो संख्यालाई फरकफरक समूह बनाएर पढाउदा कक्षा व्यवस्थित बन्यो र प्रभावकारी पनि। त्यसको प्रभावकारिता बिस्तारै सडकमै देखिन थाल्यो।
‘सुरुमा थामिनसक्नु भिड हुन्थ्यो। बिस्तारै मापसेमा पर्नेहरूको संख्या कम हुँदै गयो,’ उनले सुनाए, 'सडकमा खटिँदा पनि बाइक वा गाडी नजिकै आउन थाल्यो। कोही हेल्मेटको सिसा खोलेर भन्छन् – ‘सर तपाईंको कक्षा लिएपछि मैले रक्सी खाएर बाइक हाँक्न छाडेँ नि!’ कोही गाडीको सिसा खोलर भन्छन् – सर मैले रक्सी नै खान छाडेँ नि।'
बिस्तारै हरिशरणलाई अनुभूति भयो – अनुशासन कक्षा सजाय होइन रहेछ। यो त नयाँ पुस्तालाई हस्तान्तरण गर्न हुर्काइ रहेको संस्कार रहेछ। सडक सभ्यताको अंग। त्यही सभ्यताको बाटोले उनमा आत्मविश्वास भर्दै लग्यो। बोलीमा माधुर्यता र जानकारीमा हाँस्यरस् मिसाउँदा सुन्नेहरूमा चाख बढेको महसुस गरे। त्यहाँ सभ्यतासँगै स्थापित भइरहेथ्यो, सम्बन्ध पनि। त्यसैले त धेरै पटक बाटोमा अपरिचित अनुहारले मुसुक्क हाँसो साट्न वा दुई हात जोडेर नमस्ते गर्न थाले। पौडेल अनुमान गर्छन् - त्यो पक्कै कोही हो जो ट्राफिक कक्षामा बसेको थियो।
सन् २०१४ देखि लेन अनुशासन नमान्नेहरूलाई पनि कक्षा दिन थाल्यो ट्राफिक प्रहरीले। त्यहाँ पनि हरिशरण उभिए, प्रशिक्षक बनेर। प्रविधिले केही सहज बनाइदिएको थियो। कागजको टिपोट हेरेर एकोहोरो बोलिराख्न पर्ने अवस्था सकियो।
अहिले सडक सुरक्षा र दुर्घटना बारेको भिडियो देखाएपछि सुरु हुन्छ कक्षा। करिब आधा घण्टाको अवधिमा मन्दिरमा लाम लाग्न तयार तर सडकमा लाम लाग्न नसक्नेहरूलाई व्यङ्ग्यदेखि सडकमा लापरवाही गर्नेहरूका कारण हुने दुर्घटनाका दृश्यहरू देखाइन्छ।
त्यसपछि सुरु हुन्छ पढाई। पछिल्लो समय हरिशरणसँगै असई कमल गुरुङ, असई विजय गौतम, हिमाल थापा, दामोदर भट्टले पनि कक्षा लिन्छन्।
‘यस कक्षा पुल बनेको छ हालको सडक संस्कार र हामीले चाहेको सडक सभ्यता बिचको,’ हरिशरणले भने, 'विद्यालयको पाठ्यक्रममा समेट्नु पर्ने विषय हो। ढिलोचाँडो त्यता पनि जोड दिइन्छ भन्ने विश्वास छ।'
उनी स्वयंका लागि पनि सिकाइको आयाम बन्यो हरेक कक्षा र त्यहाँ भेटिनेहरू।
‘प्रस्तुति, भाषा, शैली मैले मेरा अग्रजहरूबाट सिकेँ।’
एआइजी विश्वराज पोख्रेल, एसपी सविन प्रधान, इन्सपेक्टर विपिन गौतमलगायतको नाम लिन्छन् उनी।
‘तर, सबैभन्दा बढी सडकमा भेटिएका आम मानिसबाट सिकेँ। मन्त्रीदेखि निकै निम्न वर्गका मानिसहरूको बोली, व्यवहार र उनीहरूसँगको संवादले सिकायो,’ सडकले जुराएको संवाद र सम्बन्धहरूप्रति उनी कृतज्ञ सुनिए।
समाजको छायाँ पर्ने पहिलो ठाउँ सडकलाई मान्छन् हरिशरण। जहाँ न कसैलाई छेकिन्छ न रोकिन्छ। बिस्तारै परिस्कृत हुँदै गएको समाजमा सडकमा देखिने प्रवृत्तिहरूले पनि सकारात्मक मोड लिँदै गएको अनुभूति गरेका छन्।
पहिलेपहिले मानिसहरू भन्थे ‘गाडीले ब्याक गरेर मान्छे मार्यो, उपचार खर्च जोगाउन।’ प्रमाणित तथ्य होइन यो। तर, पीडितदेखि पीडितको पक्षमा बोल्नेहरूले लगाउने आरोप यही थियो। आजभोलि बिमा योजना र त्यसले दिलाउने राहतका कारण त्यस्ता घटना कम सुनिएको उनको बुझाई छ।
तर, पनि पैदल यात्रुदेखि सवारी चालकसम्म सबैले सधैं सतर्क र संयमित हुनुपर्ने ठाउँ मान्छन् सडकलाई। किनकि विकसित देशहरूमा पनि दुर्घटना नहुने कहाँ हो र? जवाफ ट्राफिक प्रहरीका केही नाराले दिन्छन् -‘तीव्र गति जीवन क्षति’, ‘ढिलो गए अवश्य पुगिन्छ। हतार गरे भन्न सकिन्न।’
१७ लाखभन्दा बढी मानिसलाई ट्राफिक अनुशासनको कक्षा दिइसके उनले। केही अनुहार १७ पटकसम्म दोहोरिएको याद छ उनलाई। कोही मापसेमा परेर, कोही लेन अनुशासन उलङ्घन गरेर। तिनलाई जता लुके पनि अनुहार छोपे पनि ठम्याउन सक्छन् उनले। 'यसरी एउटै मान्छे पटकपटक कारवाहीमा पर्नु दु:खद् कुरा हो। कक्षाले मानिसलाई नैतिक रुपमा जिम्मेवार बनाओस् भन्ने उद्देश्य हो हाम्रो। तर, केही मानिस सुन्नै चाहँदैनन्। सुने पनि आत्मसात गर्दैनन्,' उनले भने।
एक घण्टाको कक्षा, एउटै सन्देश। उही आग्रह। सबैले उस्तै नबुझ्न सक्छन्। सबैका लागि बराबर प्रभावकारी नहुन सक्छ। त्यसैले त दुर्घटना भइरहन्छन्। कतिले ज्यान गुमाउँछन् त कतिले शरीरको अङ्ग। कतिले आफन्त गुमाउँछन् अनि कतिले पुन: सडकमा फर्कने आत्मविश्वास। त्यसैले हरेक पटक कक्षा सकिँदा हरिशरण एउटा वाक्य बोल्न छुटाउँदैनन् : ‘तीव्र गतिमा सवारी हाँक्दा जे पनि हुनसक्छ। त्यसरी तपाईँलाई पर्खिराखेको मान्छेको मन नदुखाइ दिनुस् न है। प्लिज।’