PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु, जलविद्युत आयोजना पनि प्रभावित



दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु, जलविद्युत आयोजना पनि प्रभावित

कैलाली : दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ। दार्चुला प्रहरीका अनुसार एकै परिवारका २ सहित ३ जनाको मृत्यु भएको हो।

दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार जिल्लाको नौगाढ गाउँपालिका-३ को चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका हजुर आमा र नातिनीको मृत्यु भएको हो।

पहिरोले घर पुरिँदा ७२ बर्सिया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मञ्जरी ठगुन्नाको मृत्यु भएको भट्टले बताए। उनका अनुसार नन्दु ठगुन्नाको २ तला भएको चार कोठे दुई वटा घरमध्ये १ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने गोठे टमटाको घरमा पनि क्षति भएको छ।

त्यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

'बुधवार राती पहिरोले पुरिएका उनीहरूको शव निकालिसकेका छौँ' उनले भने, 'पहिरोमा परेर नौगाढ गाउँपालिका-३ कै १८ बर्सिया हरमती ठगुन्ना पनि सामान्य घाइते भएकी छन्। पहिरोले नौगाढ गाउँपालिक-३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजनाका संरचनाहरूमा पूर्ण क्षति पुर्‍याएको छ।'

अविरल वर्षा पछि आएको बाढीले बगाएर खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीन वटा निर्माणाधीन आरसिसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहानमा पनि क्षति पुर्‍याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell