PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

असारमा पनि चलेन जनकपुर-जयनगर रेल, ‘प्राविधिक तयारीमै बित्यो १० महिना’



असारमा पनि चलेन जनकपुर-जयनगर रेल, ‘प्राविधिक तयारीमै बित्यो १० महिना’
फाइल फोटो।

वीरगंज : भारतबाट दुई वटा रेल सेट नेपाल आएको १० महिना बिति सक्दा पनि सञ्चालनमा आउन सकेको छैन। गतवर्ष असोज २ मै आएको रेल सञ्चालन हुन नसक्दा अन्य भौतिक पूर्वाधार तथा रेल सेटको इन्जिन र डिब्बामा पनि खराबी आउन सक्ने देखिएको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय मातहत रहेको नेपाल रेल्वे कम्पनीले रेल सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको छ। तर, रेल आउनुभन्दा अगावै अन्य प्राविधिक कुराको तयारी वा व्यवस्थापन गर्न नसक्दा रेल चल्ने मिति सर्दै आएको छ।

सरकारले यसै असार मसान्त भित्रै रेल चलाउने तयारी अनुरुप सबै प्राविधिक कुराको व्यवस्थापनमा जुटेको थियो। तर, असारमा रेल चल्ने सम्भावना न्यून रहेको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर तथा प्रवक्ता अमन चित्रकारले बताए।

‘रेल कहिले चल्छ भन्ने बारेमा अहिलेसम्म टुंगो लागेको छैन, अहिले कर्मचारीलाई तालिम दिने काम भइरहेको छ, असार २५ मा सकिन्छ’, उनले भने, ‘जोसँग रेल सेट खरिद गरिएको थियो, त्यसैको जनशक्ति र प्राविधिकबाट प्रारम्भिक चरणमा रेल सञ्चालन गर्ने लक्ष्य छ।’

नेपाल रेल्वे कम्पनीको मातहत भारतीय प्राविधिकको सहयोगमा रेल सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताए। नेपाल सरकारले भारतीय कम्पनी कोंकण रेल्वे निगमबाट ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेको थियो। सोही कम्पनीका प्राविधिक तथा जनशक्तिलाई सुरुवाती चरणमा उपयोग गरी अघि बढने सरकारी पक्षको योजना छ।

सरकारी अधिकारीका अनुसार रेल सञ्चालनमा अझै केही साता लाग्ने छ। साउन अन्तिम सातासम्म तयारी पूरा हुन सक्ने अनुमान छ। रेल सेट खरिद सम्झौता गर्ने बेलामै भारतसँग २६ जना प्राविधिक ल्याउनेबारे टुंगो लगाउन नसक्दा अहिले यस्तो समस्या आएको हो।

‘तत्कालीन भौतिकमन्त्री रघुवीर महासेठबाट रेल खरिद गर्ने मात्र सम्झौता भयो। अन्य व्यवस्थापकीय पक्षमा सिरियस हुनु भएन, जसले यस्तो समस्या आएको छ,’ भौतिक पूर्वाधार विकास मन्त्रालयका एक अधिकारीले भने।

शुरुमा जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा रेल चल्नेछ भने पछि थप १७ किमि दूरीमा रहेको विजलपुरासम्म रेल पुग्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।भारतबाट आएको रेल सेट जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको बेसक्याम्पअघि पालले छोपेर राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell