PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भाग्यलाई दोष दिँदै डीभी विजेताहरू : किन गर्दैछन् सामाजिक सञ्जालमा हार गुहार?



भाग्यलाई दोष दिँदै डीभी विजेताहरू : किन गर्दैछन् सामाजिक सञ्जालमा हार गुहार?

'सन् २०२१ का डीभी विजेता रोइरहेका छन्। उनीहरू आफ्नो भाग्य माग्दै छन्। डीभी उनीहरूको जीवनको सबैभन्दा ठूलो अवसर हो त्यसैले आफ्नो न्यायका लागि बिन्ती गरिरहेका छन्। प्रार्थना गर्दैछन्। के त्यहाँ कोही छ जो उनीहरूको समस्या सम्बोधन गर्न सक्छ?'

नेपालका लागि अमेरिकी राजदूतावासलाई सोधिएको प्रश्न हो यो। फेसबुकमार्फत्। १७ हजार बढी सदस्य भएको 'डीभी विनर्स फ्रम नेपाल' नामक पेजमा उठाइएको यस प्रश्नमा रविन अतित नाम गरेक फेसबुक प्रयोगकर्ताले प्रतिक्रिया जनाएका छन्। लेखेका छन्: आफ्नो हक माग्न पनि हामी एम्बेसीको अगाडि रुनु परेको छ। यो सबै एम्बेसीले नचाहेर भएको हो। त्यहाँका कर्मचारीहरूले कोरोना भाइरसविरुद्ध दुबै खोप लगाइसके होलान्। हामीमध्ये पनि धेरैले लगाइरहेका छौं। त्यही पनि किन यस्तो हो?

डाइभर्सिटी भिसा (डीभी) परेर पनि अमेरिका जान पाउने या नपाउने अन्यौलता धेरैमा छाएको छ। जसका कारण रविनले भनेजस्तै एम्बेसीदेखि फेसबुक र ट्वीटरमा 'रुने'हरू बढेका छन्।

'बीस वर्षको अथक प्रयासपछि लाखौं मानिसबाट छानिनु चानचुने विषय होइन। यो अवसर गुम्नु हाम्रा लागि साह्रै दु:खको विषय हुनेछ। कृपया यसलाई उपेक्षा नगरिदिनुस्। मसँग सपना थियो। भाग्यले यसै वर्ष जुरायो अब एम्बेसीको पालो,' साजन महर्जनले आग्रह गरेका छन्।

त्यस्तै अस्मिता केसीले लेखेकी छिन्,'हामीलाई लागेको थियो राष्ट्रपति जो बाइडेनले ट्रम्पको आप्रवासी-विरोधी नीतिहरूलाई उल्ट्याउने छन्। दुर्भाग्यवस् डीभी २०२१ परेकाहरूको स्थिति हामीले सोचेभन्दा धेरै खराब छ। कृपया हाम्रो भावना, पीडा स्वीकार र चाँडै हाम्रो समस्या सम्बोधन गर। हामी आफ्नो भाग्यको लागि माग्दै छौं।'

केसीले आफूहरूले केही गल्ती नगरेको र भुलबस् केही भएको खण्डमा माफ गर्न आग्रह गरेकी छिन्। 'हामी तपाईंहरूले दिनसक्ने कुराको लागि याचना गरिरहेका छौं। हाम्रो सपना तपाईंहरूकै हातमा छ। तपाईंहरूको दयाका लागि सधैं कृतज्ञ छौं र भइरहनेछौं। कृपया हाम्रो कामना सुनिदिनुस्,' भनेकी छिन्।

धेरै नेपालीले डीभीलाई आशा, भरोसा, सपना र भाग्यको संज्ञा दिएका छन्। एम्बेसीमात्र नभइ राजदूतदेखि अमेरिकाका राष्‍ट्रपतिसम्मलाई मेन्सन गरेर आफ्नो 'अमेरिकन ड्रिम्स' अपुरो नपार्न आग्रह गरेका छन्। कतिले व्यङ्ग्यात्मक भाषाको प्रयोग गरेका छन् भने कतिले आक्रोश पोखेका छन्।

गत वर्ष अमेरिकी श्रम बजारको संरक्षणका लागि भन्दै तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए। त्यो रोक १ सय ८० देशका डीभी पर्ने मानिसहरूमा पनि लागू गरियो। त्यसपछि नेपाल लगायत डीभी खुला हुने अन्य देशका विजेताको अन्तर्वार्ता स्थगित भएको थियो। जसका कारण धेरैलाई डीभी परेपछि आउने 'सेकेन्ड लेटर' आएन। अवधि अभावका कारण भिसा अन्तर्वार्ताको अवसर पनि निकै कमले पाए र भिसा पनि सीमितले मात्र। जसलाई सेकेन्ड लेटर आएन र हालसम्म अन्तर्वार्ताका लागि बोलाइएको छैन उनीहरू सामाजिक सञ्जालमार्फत्, संघ बनाएर, सामूहिक पत्र लेखेर आफ्नो 'अधिकार र न्याय' माग गरिरहेका छन्।

'हामी हरेक वर्ष डीभी विजेता हुन सक्दैनौं। हामी हाम्रो भविष्य बनाउन आतुर छौं। यस वर्ष आफ्नो सपनाहरू चुम्न तयार छौं। हामीमाथि दया देखाइयोस्। अमेरिकी दूतावास कृपया सन् २०२१ का डीभी विजेतालाई राहत दिइयोस्,' चूँडामणि दाहालले लेखेका छन्। 

कतिले त आफू यसै कारण मानसिक तनावमा रहेको बताएका छन्। 'हामी भयवित छौं, आत्तिएका छौं, विगत एक वर्षबाट मानसिक तनावबाट गुज्रिरहेका छौं,' रेवत बुढाथोकीले लेखेका छन्।

गत जुन १ तारिखमा आफूहरूलाई डीभी पीडित भन्नेहरूले अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति, अमेरिकी सिनेट र सांसद, राज्य सचिव, अमेरिकी विदेश विभाग, केन्टकी कन्सुलर सेन्टर र नेपालस्थित अमेरिकी दूतावासलाई सम्बोधन गर्दै ज्ञापन पत्र बुझाए। त्यस पत्रमार्फत् भाग्यले जितेर पनि ठगिएकाहरूको कथा भनेको बताएका थिए उनीहरूले। पत्रमा लेखिएको छ, 'डीभी पीडितको निराशा, शोक, दु:ख, पीडा र आँशु यस पत्रमार्फत् चित्रण गर्न जाँदैछु। आशा छ कि सम्बन्धित अधिकारीले उनीहरूको दयनीय अवस्थालाई स्वीकार गर्दछ र परिस्थिति पार लगाउन सहयोग पुर्‍याउँछ।'

सन् २०२०। डीभी परेका केही अन्तर्वाता दिइरहेका थिए। कसैको अन्तर्वाताको मिति तय भएको थियो। केहीको मेडिकल परीक्षण गराइरहेका थिए भने कोही मितिको पर्खाइमा थियो। त्यतिबेला कोरोना भाइरसको संक्रमण फैलियो। त्यस वर्ष मार्च १६ सम्ममा भिसा पाउनेहरू त अमेरिका पुगे। तर, त्यसपछि ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई रोक लगाए।

'त्यसरी रोक लगाउनु थियो भने चिट्ठा कार्यक्रम नै नखोलेको भए हुन्थ्यो' भन्ने डीभी पीडितहरूको तर्क हो। विकल्प र उपायहरू हुँदाहुँदै आफूहरूलाई अन्यौलमा पारेको बताएका छन्। जारी पत्रमा उनीहरूले भनेका छन्,'हाम्रो जीवन बर्बाद् भयो। हाम्रो भाग्य चकनाचुर भयो।' संक्रमणको सबै देशमा फैलिएकाले त्यसैलाई कारक देखाएर आफूहरूको भविष्य र भाग्यलाई प्रभावित पार्न नहुने बताएका छन्।

नयाँ राष्ट्रपति जो बाइडेनले ट्रम्पले आप्रवासीहरूप्रति पूर्वाग्रह राखेको भन्दै गत फेब्रुअरी २४ मै उक्त व्यवस्था रद्द गरे। त्यसपछि विभिन्न देशमा प्रभावित विजेताहरूको अन्तर्वाता लिने र भिसा दिने क्रम सुरु भयो। नेपालमा पनि त्यस प्रक्रिया सुरु भइसकेको छ। जुलाई ६ तारिखमा भएको अन्तर्वातापछि १७ जनाको भिसा सुनिश्चित भइसकेको छ। त्यस्तै आगामी अन्तर्वार्ता जुलाई २८ का लागि तय भएको छ। तर, किन आत्तिएका छन् त मानिसहरू?

हरेक वर्ष कुल ५५ हजार मानिसले डीभी पाउँछन्। जसमध्ये सन् २०२१ का लागि ३ हजार ८ सय १ जना नेपालबाट छानिए। उक्त संख्या एसियामा इरानपछिको अत्याधिक विजेता संख्या हो। डीभी भिसाको अन्तर्वार्ता सेप्टेम्बर ३० सम्ममात्र खुला हुन्छ। त्यसपछि आगामी वर्षको डीभी विजेताहरूको अन्तर्वाता एवं भिसाको अन्य प्रक्रिया अघि बढ्छ। विजेताहरू आफ्नो पालो नआउने र अमेरिका सपना विरोध र भिसाको मागमा सीमित हुने डरले सामाजिक सञ्जाल एवं अन्य माध्यमबाट बोलिरहेका हुन्।

सम्पूर्ण विजेताहरूको प्रतिनिधि गर्दै पत्र लेख्ने महिलाले भनेकी छिन्,'आशा कहिले पनि समाप्त हुँदैन। हाम्रो सास रहेसम्म आशा जीवित रहनेछ। पूर्वाग्रहविरुद्धको प्रतिक्रियाको पक्षमा हामी पनि उभिएका छौं। चाहना र आशा नमारी। महान् राष्ट्र 'संयुक्त राज्य अमेरिका'का महान मानिसहरूबाट साथ र सहयोगको अपेक्षा छ।'

हाल अन्‍य डीभी खुला हुने अन्य देशका मानिसहरू पनि सामाजिक सञ्जालमार्फत् 'अमेरिकी सपना' त्याग्नु पर्ने डरबारे बोलिरहेका छन्। उनीहरू पनि चाँडोभन्दा चाँडो भिसा प्रक्रिया अघि बढाउन आग्रह गरिरहेका छन्। कोभिड-१९ महामारीका कारण भिसा प्रक्रियालाई प्राथमिकतामा नराख्ने बताएपछि बाइडेन प्रशासनविरुद्‍ध १४१ देशका २४ हजार डीभी विजेताले मुद्दा दर्ता गरेका छन्।

वादीहरूको प्रतिनिधित्व गर्ने वकिल कर्टिस मोरिसनले ट्वीटरमार्फत् मुद्दाको घोषणा गरेका थिए।

जिल्ला अदालतमा कोलम्बियामा मुद्दा पेश गरिएको यूरो न्यूजले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell