PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

महोत्तरी कांग्रेसमा किचलो : क्रियाशील सदस्यता विवादका कारण वडा, पालिका तथा क्षेत्रीय अधिवेशन अन्योलमा



सुमित मिश्र

महोत्तरी कांग्रेसमा किचलो : क्रियाशील सदस्यता विवादका कारण वडा, पालिका तथा क्षेत्रीय अधिवेशन अन्योलमा

जनकपुरधाम: नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई लिएर नेताहरू दौडधुपमा लागेका छन्। केन्द्रमा पार्टीको नेतृत्व आफ्नो हातमा पार्नका लागि नेताहरू दौडधुप गरिरहेका बेला जिल्लामा समेत आकाङ्क्षीहरूले आन्तरिक तयारी सुरु गरेका छन्। महोत्तरीमा जिल्ला सभापतिका लागि ६ भन्दा बढी नेता आकाङ्क्षी देखिएका छन्।

महोत्तरीमा जिल्ला सभापतिका लागि वर्तमान जिल्ला कार्यसमितिका सचिव शम्भु पाठक, नेताहरू बजरंग नेपाली, नागेश्वर यादव, सुशील यादवलगायत आकाङ्क्षी रहेको बताइएको छ। चार पटक जिल्ला सभापति भएका महेन्द्र राय इच्छुक देखिए पनि विधान अनुसार उनी यो पटक सभापतिको दौडबाट बाहिरिएका छन्।

लगातार २ पटक सभापति भई सकेकाले आफू फेरि विधानको हिसाबले सभापतिमा लड्न नपाउने रायले बताए। क्रियाशील सदस्यता वितरणमा महोत्तरीमा विवाद देखिएकाले जिल्ला अधिवेशनको खासै तयारी सुरु हुन सकेको छैन।

जबकि गत असार ५ गते पार्टीको केन्द्रीय समितिको बैठकले साउन २६ गते जिल्ला अधिवेशन गर्ने भनिए पनि क्रियाशील सदस्यता वितरणको विवादका कारण वडा, पालिका तथा क्षेत्रीय अधिवेशन समेत अन्योलमा परेको हो।

नेपाली कांग्रेस महोत्तरीका सभापति रायले जिल्लामा १२ हजार सक्रिय सदस्य रहेको र उनीहरूको नवीकरणको कार्य अन्तिम चरणमा रहेको जानकारी दिए। उनले नयाँ सदस्यता वितरणको विवाद समेत समाधान गर्ने प्रयास भइरहेको बताए।

कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले महोत्तरीको जलेश्वर नगरपालिकाको २ वटा वडा, मनरासिस्वा नगरपालिकाको २ वटा वडा र पिपरा गाउँपालिकामा सक्रिय सदस्यता वितरणमा विवाद रहेको बताए। उनले केन्द्रले सक्रिय सदस्यहरूको नामावलीको टुङ्गो नलगाएका कारण यो विवाद देखिएको बताए।

पाठकले भने, ‘वडाबाट पालिका, पालिकाबाट क्षेत्र हुँदै जिल्लाले नामावली केन्द्रमा पठाउनु पर्ने थियो तर त्यस्तो नभएकाले यी वडाहरूमा यस प्रकारको विवाद देखिएको छ।’

निधिका कारण देउवा पक्ष मजबुत

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको समयमा महोत्तरीमा कोइराला खेमा मजबुत थियो। तर, पछिल्लो समय उपसभापति विमलेन्द्र निधिको बढ्दो सक्रियताका कारण महोत्तरीमा सभापति शेरबहादुर देउवा पक्ष मजबुत देखिएको छ। महोत्तरीमा कांग्रेसको वर्तमान परिस्थितिलाई हेर्ने हो भने क्षेत्र नम्बर ३ बाहेक सबै बाँकी ३ वटै क्षेत्रमा देउवा पक्ष सशक्त स्थितिमा छ।

केन्द्रमा २ भन्दा बढी गुट देखिए पनि जिल्लामा भने देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच नै प्रतिस्पर्धा रहने स्थानीय कांग्रेसका नेताहरू बताउँछन्।

नेपाली कांग्रेसका नेता रामचन्द्र तिवारी केन्द्रमा जति सुकै गुट रहे पनि जिल्लामा यसले खासै प्रभाव नपार्ने बताउँछन्। उनले केन्द्रको समीकरण एउटा र जिल्लाको समीकरण अर्कै पनि हुन सक्ने बताए।

‘१३ औँ अधिवेशन हुँदा केन्द्रमा ३ खेमा थिए तर जिल्लामा २ खेमा मात्रै। जबकि १२औँ अधिवेशनमा केन्द्रमा २ खेमा मात्रै थियो तर जिल्लामा ३ खेमा थिए’, तिवारीले भने, ‘यसले पनि पुष्टि हुन्छ, केन्द्रको गुटले जिल्लामा खासै महत्त्व राख्ने छैन।’

केन्द्रमा एउटै खेमाबाट सभापतिका आकाङ्क्षी एकभन्दा बढी रहेको अवस्थामा यसको असर जिल्लामा समेत देखिएको छ।

महोत्तरीमा जिल्ला सभापतिका लागि आकाङ्क्षी देखिएकामध्ये अधिकांश देउवा पक्षकै छन्। नेपाली कांग्रेस महोत्तरीमा देउवा पक्षलाई यी आकांक्षीहरुमध्ये एउटै उम्मेदवार बनाउन भने त्यति सहज देखिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell