वीरगंज : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा दुई पक्षबीच झडप हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन्। झडपको क्रममा ८ वटा मोटरसाइकल जलाइएको छ।
ईलाका प्रहरी कार्यालय चन्द्रपुरका डीएसपी लिलाराज लामिछानेका अनुसार छिमेकीबीच जग्गाको विषयमा शुरु भएको झगडा झडपमा परिणत भएको थियो।
झडपमा घाइते हुनेहरुमा स्थानीय श्रीराम चौधरी, लक्ष्मी चौधरी, जगनारायण चौधरी लगायत रहेका छन्। दीपनारायण चौधरीको घर समेत तोडफोड भएको रौतहट प्रहरीले जनाएको छ। गाउँमा पुनः झडप नहोस् भनेर ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।
सो घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको डीएसपी लामिछानेले बताए। झडपमा परी घाइते भएका आकाश चौधरी, विनेक चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत एक दर्जनको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।
थारु बस्तीको रुपमा चिनिने सो बस्तीमा दुई पक्षबीच पुरानो जग्गाको विवादलाई लिएर गएराति साढे १० वजे झडप भएको थियो।