PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आफ्नो गल्तीलाई ढाकछोप गर्न पूर्व सरकारलाई आरोप लगाइयो : पृथ्वीसुब्बा गुरुङ



आफ्नो गल्तीलाई ढाकछोप गर्न पूर्व सरकारलाई आरोप लगाइयो : पृथ्वीसुब्बा गुरुङ

पोखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले भ्रष्टाचार सुरुवात गरेको आरोप लगाएका छन्। जाँदाजाँदै साढे ४ अर्बको टेण्डर अगाडि बढाएको भन्ने आरोपको खण्डन गर्न शनिवार बोलाइएको पत्रकार सम्मेलनमा गुरुङले वर्तमान प्रदेश सरकारमाथि भ्रष्टचार गरेको आरोप लगाएका हुन्।

‘उहाँहरुले भ्रष्टाचारको सुरुवात गरिसक्नुभाछ। अस्ति भर्खर आएको सरकारले त्यत्रो १६ करोड रकम रकमान्तर गरेर चाहिने विकास निर्माणमा खर्च नगरेर पालिकालाई दिएको छैन,’ गुरुङले भने।

वर्तमान सरकार भ्रष्टाचारबाट शुरु भएको उनको ठहर छ। वर्तमान सरकारका प्रवक्ता कुमार खड्काले गुरुङ नेतृत्वको सरकारले जाँदाजाँदै साढे ४ अर्बको ठेक्का लगाएको बताएका थिए।

उक्त आरोपको खण्डन गर्दै गुरुङले सरकारले आफ्नो गल्तीलाई ढाकछोप गर्न पूर्व सरकारलाई आरोप लगाएको बताएका छन्। रकमान्तरको विषयलाई ढाकछोप गर्न वर्तमान सरकारले जालझेल गरेको उनको भनाइ छ।

‘मेरो नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा आधारित रहेर नै बजेट विनियोजन गरेको छ’, गुरुङले भने, ‘उहाँहरु हुनुहुन्थ्यो संसदबाट पास भएको विषय हो, अहिले गैरजिम्मेवारी अभिव्यक्ति दिएर बदनाम गर्न खोजियो।’

भ्रष्टाचारबाट शुरु भएको सरकारले अध्यारो कोठामा बसेर आफ्नो नेतृत्वको सरकारको झ्याली पिट्नुको अर्थ नरहेको उनको भनाइ छ।

‘उहाँहरुको सरकार भ्रष्टाचारबाट शुरु भो, अहिले पृथ्वी सुब्बा गुरुङको सरकारले यस्तो गर्‍यो भनेर झ्याली पिटेर हुन्छ?’ गुरुङले भने।

त्यस्तै, उनले आफू नेतृत्वको सरकारले विधि, प्रक्रिया र योजनामा बसेर काम गरेको दाबी गरे। नीति कार्यक्रममा आएको र विकासमा समावेश भएका कुरालाई आधारमा राखेर विकासका लागि खण्डखण्डमा टेण्डर गरेको उनको प्रष्टिकरण छ। उनले विगतका वर्षदेखि शुरु भएका योजनाको लागत स्टेटमेन्टमा ढिलाई भएकाले रातो किताबमा उल्लेख नगरी टेण्डर गरिएको बताए।

‘अर्बौँका ठेक्का एकसाथ कार्यान्वयन गर्दा अरु योजना प्रभावित हुन्छन्। त्यसकारण खण्ड–खण्ड बनाएर गरेका थियौँ। जाँदाजाँदै अर्बौँको टेण्डर गरेको आरोप लगाइएछ। विकास बच्चाको खेल होर?’ गुरुङले प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell