कोपा अमेरिकाको फाइनल प्रतिस्पर्धामा आयोजक ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको छ। यो जीत सँगै अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीको सपना पूरा भएको छ, त्यो हो – अन्तर्राष्ट्रिय उपाधि जिताउने।
धेरैपछि अर्जेन्टिनाले उपाधि उचाल्दा फ्यानहरुले सामाजिक संजालमा खुसी व्यक्त गरिरहेका छन्। नेपाली कलाकारहरुले पनि कोपा अमेरिका फाइनलमा अर्जेन्टिना विजय हुँदा खुसी साटेका छन्।
कलाकार दीपकराज गिरी अर्जेन्टिनाका फ्यान हुन। कोपा अमेरिकामा पनि दीपकको रोजाई अर्जेन्टिना थियो। अर्जेन्टिना र मेस्सीले अन्तर्राष्ट्रिय उपाधि नजिते म्याराडोनाको पुरानो तस्विर हेरेरै जिन्दगी बित्ने थियो भन्दै उनले मेस्सी र अर्जेन्टाइन फ्यानहरुलाई बधाई दिएका छन्।
यस्तै, गायक बद्री पंगेनीले पनि कोपा अमेरिकामा अर्जेन्टिनालाई समर्थन गरेका थिए। अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि उचालेसँगै पंगेनीले म्याराडोनालाई स्मरण गरे। उनले अर्जेन्टिना र ब्राजिलबिचको प्रतिद्वन्दी इतिहास कोट्याउँदै भने 'सायद म्यारोडोना जीवित हुन्थे भने भन्थे होलान् 'ब्राजिलमा गोर्खालीहरु थिएनन् त्यसैले कोपा कप हामीले जित्यौँ।'
त्यसैगरि, अभिनेत्री केकी अधिकारी पनि अर्जेन्टिनाकै फ्यान हुन्। अधिकारीले विजयी अर्जेन्टिनाको टोलीलाई 'द च्याम्पियन्स' भन्दै सम्बोधन गरेकी छिन्।
गायक तथा संगीतकार कालि प्रसाद बास्कोटाले पनि अर्जेन्टिनाले जित हासिल गरेको भिडियो पोष्ट गरेका छन्। उनले यो भिडियो आफूलगायत मेस्सीका फ्यानहरुका लागि निकै भावुक रहेको उल्लेख गरेका छन्।
अभिनेत्री वर्षा राउत भने ब्राजिलकी समर्थक हुन्। अर्जेन्टिनाले जित हासिल गरेसँगै उनले बधाई दिएकी छिन्। साथै उपविजेता टिम ब्राजिललाई 'आफ्नो मुटु' रहेको बताएकी छिन्।
गायक प्रकाश सपुत पनि ब्राजिकै कै समर्थक। तर आजको खेल हारेसँगै उनले अर्जेन्टिना र मेस्सीलाई बधाई दिएका छन्। उनले फुटबलले मानिसलाई धेरै कुरा सिकाउने समेत बताएका छन्।