PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

महिना अघिदेखि हराएकी सुजिता सेप्टी ट्याङ्कीभित्र गाडिएको अवस्थामा, अभियुक्तसँगको केरकारबाट शवसम्म पुग्यो प्रहरी



सुमित मिश्र

महिना अघिदेखि हराएकी सुजिता सेप्टी ट्याङ्कीभित्र गाडिएको अवस्थामा, अभियुक्तसँगको केरकारबाट शवसम्म पुग्यो प्रहरी

जनकपुरधाम : जेठ १९ गते आफ्नै घरबाट बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव भेटिएको छ। आज बिहान उनी बस्ने घरबाट करिब ३ सय मिटरको दुरीमा शव भेटिएको हो।

उनको आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको जगमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। यसअघि असार १३ गते बेपत्ता सुजिताको शवको अवशेष (कपाल, चुरा, डोरी, नुनको प्याकेट, कपडा) लगायतका सामग्रीहरू घरभन्दा एक किलोमिटर पर खेतमा गाडिएको अवस्थामा फेला परेको थियो। त्यही आधारमा प्रहरीले सुजिताको खोजी कार्यलाई तीव्र बनाएको थियो।

'बिहान शौचालयमा खनेर हेर्दा तल पट्टी ढलान गरेको ठाउँमा बोरामा प्याक गरेर गाडीएको अवस्थामा फेला परेको हो,' जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले भने।

शौचालयमा भेटिएको शव सुजिताकै रहेको पहिचान भएपछि माइतीपक्षले सनाखत गरेको छ। सुजिताको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ।

माइतीपक्षले छोरी सुजिताको हत्या भएको दावी गर्दै आएका थिए। सुजिताकी पाँच वर्षीय छोराले आमाको हत्या भएको हुनसक्ने सङ्केत प्रहरीलाई दिएपछि प्रहरीले अनुसन्धान तीव्र बनाएको थियो। सुजिताको शवको अवशेष फेला परेपछि प्रहरीले सोही दिन उनका श्रीमान् मुकेश ठाकुर, देवर रुपेश ठाकुरलाई पक्राउ गरेको थियो। घटनामा संलग्न भएको आशङ्कामा थप ३ जनालाई पक्राउ गरिएको छ।

पक्राउ परेका अभियुक्तको केरकारपछि हत्या गरेर पुरिएको ठाउँसम्म प्रहरी पुगेको हो। 'अभियुक्तसँग भएको केरकारले हामीलाई शव फेला पार्ने क्लु दिएको हो,' एसपी आचार्यले भने।

एक साताअघि माइतीपक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पति, देवर, सासुरा, देवरानी लगायत ६ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell