वीरगंज : बारा प्रहरीले निषेधाज्ञाको समयमा किर्ते सवारी पास बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष २१ का जयनारायण प्रसाद जैसवाल र कलैया वडा नम्बर ३ बस्ने वर्ष ३० का गोपाल प्रसाद रहेका छन्।
साह कलैया वडा नम्बर ४ स्थित दाइभाइ फोटो स्टुडियोको सञ्चालक हुन्। जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको हस्ताक्षर किर्ते गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरी किर्ते मुद्दामा थप अनुसन्धान भइरहेको बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।
गत शनिवार कलैयाबाट काठमाडौंको लागि जाँदै गरेको अवस्थामा बाराको पथलैया चोकमा प्रहरीले चेकिङको क्रममा जैसवालले चलाएको गाडी ना १ ज ७२८८ नम्बरको गाडीको पास चेक गर्दा किर्ते सवारी पास भेटिएपछि पास बनाउने पसलका सञ्चालकलाई समेत हिरासतमा लिएको हो। प्रहरीले पसलबाट दुई थान प्रिन्टर, पीसीयू, मनिटर तथा थप तीन थान नक्कली सवारी पास फेला पारेको छ।