आलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ बहुप्रतिक्षित फिल्म हो। माफिया डन गंगुबाईको जीवनमाथि बनेको फिल्मले दुई साताअघि मात्रै बाँकी रहेको सुटिङ सकेको थियो।
अहिले पनि भारतमा कोरोनाले गर्दा सबै सिनेमाघरहरु खुल्न सकेका छैनन्। जसले गर्दा फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने अनुमान गरिएको थियो। तर, यसैबीच निर्देशक सञ्जयलीला भंसालीले फिल्म ओटीटीमा प्लेटफर्ममा रिलिज नगर्ने बताएका छन्।
फिल्म ठूलो पर्दाका लागि बनाएकोले ठूलो पर्दामै रिलिज हुने र त्यसका लागि फिल्म टिम जति पनि समय कुर्न तयार रहेको बलिउड हंगामामा उल्लेख छ।
‘सञ्जयलीला भंसाली फिल्मका कारण निकै खुसी छन्। उनलाई लाग्छ कि स्केल, भिजुअल साइज र इमोशन्सका हिसाबले यो उनको अहिलेसम्मकै राम्रो फिल्म हो’, फिल्मसँग सम्बन्धित एक सदस्यले भने, ‘यो फिल्म कुनैपनि हालतमा ओटीटी प्लेटफर्ममा रिलिज गरिने छैन।’
हुसेन जैदीको उपन्यास ‘माफिया क्विन अफ मुम्बई’मा आधारित यो फिल्म अनेक विवादमा समेत परेको थियो।
फिल्मले गंगूबाईको गुजरातदेखि मुम्बईसम्मको यात्रा, असफल प्रेम कथा प्रस्तुत गरेको छ। केही समयअघि मात्र निर्देशक भंसालीले जन्मदिनमा फिल्मको टिजर सार्वजनिक गरेका थिए।