PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कर्णाली सरकारले कोरोना नियन्त्रण तथा उपचारमा खटिएकाहरुको लागि उपलब्ध गरायो जोखिम भत्ता



कर्णाली सरकारले कोरोना नियन्त्रण तथा उपचारमा खटिएकाहरुको लागि उपलब्ध गरायो जोखिम भत्ता

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारमा खटिएकाहरुलाई जोखिम भत्ता उपलब्ध गराएको छ। यसअघिको मन्त्रिपरिषद्को निर्णय अनुसार महामारी नियन्त्रण र उपचारमा खटिने व्यक्तिलाई खाईपाई आएको तलबको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइएको हो।

यसअघि सरकारले निर्णय गरेर आश्वासन मात्रै दिएको भन्दै स्वास्थ्यकर्मी असन्तुष्ट बनेका थिए। पछिल्लो समय प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत सरसफाईकर्मी, एम्बुलेन्स र शवबाहन चालकलाई ५० प्रतिशतका दरले जोखिम भत्ता उपलब्ध गराइएको हो।

मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश अस्पताल, प्रदेश आयुर्वेद औषधालय, प्रदेशका दश वटै जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शवबाहन र एम्बुलेन्स चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको जनाएको छ।

उक्त जोखिम भत्ताका लागि मन्त्रालयले तीन करोड २७ लाख ८३ हजार ४८७ रुपैयाँ निकासा गरेको सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए। उनका अनुसार स्वास्थ्य सेवा निर्देशनालयमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि चार लाख ८८ हजार ९१० रुपैयाँ पठाइएको छ।

यस्तै, प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शवबाहन चालकका लागि ३८ लाख ६१ हजार १५२ रुपैयाँ निकासा गरेको छ भने प्रदेश आयुर्वेद औषधालयलाई पाँच लाख ३३ हजार ९५०, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई २६ लाख २० हजार २००, मेहलकुना अस्पताललाई आठ लाख ९३ हजार २४ रुपैयाँ पठाएको हो।

त्यस्तै, स्वास्थ्य सेवा कार्यालय सल्यानलाई ३५ लाख, स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई २३ लाख ५५ हजार दुई सय ९० रुपैयाँ, स्वास्थ्य सेवा कार्यालय मुगुलाई ३१ लाख १९ हजार एक सय १६ रुपैयाँ, स्वास्थ्य सेवा कार्यालय दैलेखलाई ५३ लाख ३८ एक सय ८० रुपैयाँ, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई १७ लाख आठ हजार सात सय ७५ रुपैयाँ, स्वास्थ्य सेवा कार्यालय हुम्लालाई ३५ लाख ७ हजार ती सय रुपैयाँ र स्वास्थ्य सेवा कार्यालय डोल्पालाई १५ लाख चार हजार छ सय ८० रुपैयाँ पठाइएको हो।

‘महामारी रोकथाम तथा नियन्त्रण र उपचारमा जति पनि चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शवबाहन चालकहरु खटिनुभयो, उहाँहरुलाई प्रमाणित अभिलेखका आधारमा शुरु तलव स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएका छौँ’, सचिव काप्रीले भने, ‘अथक मेहनत र लगावले महामारी नियन्त्रणमा सहज भएको छ, थप उहाँहरुमा ऊर्जा र हौसला मिलोस् भनेर प्रदेश सरकारको निर्णय अनुसार रकम उपलब्ध गराइएको छ।’

यस्तै, सामाजिक विकास मन्त्री यज्ञबहादु विसीले अग्रभागमा खटिएकाहरुलाई थप काम गर्ने ऊर्जा मिलोस भनेर सरकारले निर्णय गरेको र सोही अनुसारमा कार्यान्वयनमा गएको बताए। महामारी नियन्त्रणको अग्रभागमा खटिएका व्यक्तिहरुका लागि आवश्यक सम्मान र प्रोत्साहनका लागि प्रदेश सरकार हरबखत तयार रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell