PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेसबाट एक जनामात्र मन्त्री बनाउने देउवाको प्रस्ताव



कांग्रेसबाट एक जनामात्र मन्त्री बनाउने देउवाको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार गठन कसरी गर्ने भन्नेबारेमा छलफल अघि बढाएका छन्। देउवाले बिहानबाटै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पदाधिकारीसँग छलफल गरेका छन्।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यसबारे छलफल गर्न बुढानिलकण्ठ पुगेका छन्। माओवादीको स्थायी कमिटि सकिनसाथ प्रचण्ड बुढानिलकण्ठ पुगेका हुन्।

कांग्रेसबाट एकजना मात्र लैजाने तयारी

नयाँ बन्ने मन्त्रिमण्डलमा कांग्रेसबाट एक जनालाई सहभागी गराउने देउवाले प्रस्ताव गरेका छन्। देउवाले सबै पार्टीबाट एक एक जना सहभागी गराउने प्रस्ताव राखेको कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार शुरुमा तीन जनाको मन्त्रिमण्डल बनाउने तयारीमा देउवा लागेका छन्।

कांग्रेसबाट को मन्त्री बन्दैछन् त? यस विषयमा भने नाम टुंगो नलगिसकेको महतले जनाए।

देउवा निकट नेताका अनुसार कांग्रेसबाट पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई अर्थमन्त्रीकै जिम्मेवारी दिएर आज मन्त्रिमण्डल गठनको तयारी हुँदैछ। माओवादीबाट जनार्दन शर्मा र जनता समाजवादी पार्टीबाट उपेन्द्र यादवलाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ।

३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने भएकोले देउवा सानो मन्त्रिमण्डल बनाउने मुडमा रहेको बुझिएको छ। यद्यपि प्रचण्ड र जसपासँग छलफल पछि यसले नयाँ रुप पनि लिन सक्ने बताइएको छ।

सोमवार सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले २ बजे देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिने तालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell