PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सुजिता हत्या प्रकरणमा पक्राउ परेका ४ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक



सुजिता हत्या प्रकरणमा पक्राउ परेका ४ जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

जनकपुरधाम : महोत्तरीको लोहारपट्टि नगरपालिका वडा नम्बर ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको हत्या प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

मंगलवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो।

प्रहरीले मृतक सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहारपट्टी वडा नम्बर ७ स्थित भ्रमरपुरा बस्ने ३७ वर्षीय बन्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राईन र ३२ वर्षीय नथुनि मण्डललाई पक्राउ गरी सार्वजनिक गरेको छ।

महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले तत्काल मृतकका पति ३१ वर्षीय मुकेश ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनको संलग्नता नदेखिएकाले थुनामुक्त गरी मृतक सुजिताका बुवा कामेश्वर पाण्डेको जिम्मा लगाइएको जानकारी दिए।

एसपी आचार्यले पक्राउ परेका बण्ठा, मुल्ला र नथुनिले मृतकको शव ओसारपसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्ने कार्यमा सहयोग पुर्‍याएकोले पक्राउ गरिएको जनाए। उनले अझै पनि अनुसन्धान जारी रहेको भन्दै छिट्टै नै यस घटनाका सम्बन्धमा विस्तृत जानकारी गराइने बताए। उनले घटना के कारणले भयो भन्ने समेत अहिलेसम्म नखुलेको बताए।

‘सुजिताको हत्या काण्डमा जेजति अहिले सम्मको अनुसन्धानले देखाएको छ, त्यसको बारे अहिले हामीले चर्चा गरेपनि घटना रहस्यमय रहेकोले एक साताभित्रमा अझै रहस्यहरु खुल्दै जाने छ,’ प्रहरी उपरीक्षक आचार्यले भने।

जेठ १९ गते आफ्नै घरबाट बेपत्ता भएकी ठाकुरको शव २ दिनअघि (आइतवार) उनी बस्ने घरबाट करिब ३ सय मिटरको दुरीमा भेटिएको थियो।

उनको शव आफ्नै पेट्रोल पम्पको छेउमा रहेको शौचालयको जगमा गाडिएको अवस्थामा फेला परेका थियो। यसअघि असार १३ गते सुजिताको कपाल, चुरा, डोरी, कपडा लगायतका सामग्रीहरू घरभन्दा एक किलोमिटर पर खेतमा गाडिएको अवस्थामा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell