PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

'अँध्यारोबाट उज्यालोमा आउँदा आँखा थोरै तिरमिरायो'



स्वेच्छा राउत

'अँध्यारोबाट उज्यालोमा आउँदा आँखा थोरै तिरमिरायो'

खरायो र कछुवाको दौडको कथा। कथामा खरायोको जस्तै गति थियो उनीहरूको हतारोको। अनि, कछुवाको गतिजस्तै सुस्त चल्‍दै थियो समय। वर्षौ भएको थियो उनीहरूका लागि समय ढिला चल्न थालेको। दिन, साता, महिना र वर्षको हिसाब भारी भएको।

बादल लागेकाले हुनुपर्छ सोमबार त घाम पनि ढिलामात्रै देखियो। हरेक पटक घडी हेर्दा सुई नै बिस्तारै हिँडेजस्तो लाग्दै थियो। यस दिन विशेष थियो उनीहरूका लागि। त्यसैले थामिनसक्नुको हतार गरेका थिए। अन्तत: कछुवाको गतिमै सहि चलिरहेको समयको जीत भएको थियो। छोरी घर फर्कँदै थिइन्, १२ वर्षपछि।

ठीक साढे ६ बजे उनी न्यूरोडबाट सुन्धारास्थित केन्द्रीय कारागारतर्फ हिँडे। यस पटक अरुबेलामा जस्तो सर-सामान र खानेकुराको पोको बोकेका थिएनन्। रित्ता थिए हात। यस पटक फर्कँदा भने सधैँ झैँ रित्तै हृदय लिएर फर्किनु पर्ने थिएन। किनकि मेरिना शाक्य जेलमुक्त हुँदै थिइन्।

+++

२०६७ मंसिर ३ गते, न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले कैद सजाय तोकिदियो - कर्तव्य ज्यानतर्फ जन्मकैद अर्थात् २० वर्ष। अपहरणतर्फ १० वर्ष। गम्भीर प्रकृतिको अपहरण भएकाले दुई र महिलाको भएकाले थप दुई वर्षगरी १४ वर्ष।

२०६६ सालमा ख्याति श्रेष्ठको अपहरण र हत्या गरेका थिए वीरेन श्रेष्ठले। काठमाडौँ जिल्ला अदालतले त्यस क्रुर हत्याको मतियार ठहराएको थियो मेरिनालाई।

उमेरले भर्खर १७ वर्षकी थिइन् मेरिना शाक्य 'महिला सुधार गृह' प्रवेश गर्दा। एसएलसी दिएर ब्रिज कोर्स गर्दै थिइन्। पढाइमा अब्बल भएकै कारण नेपाल स्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा विश्लेषण गर्ने विद्यार्थी समूहको सदस्य बनाएको थियो उनलाई।

दुर्भाग्य, एसएलसीको रिजल्ट आउनु अगावै उनी कारागार पुगिन्।

निस्किँदा २९ वर्षकी भइन्। यस बिचमा सुधार गृहको परिवेशमा अभ्यस्त भइन्। पछुतो र पीडाभन्दा माथि उठिन्। आत्मसमीक्षा र सुधारको बाटो रोजिन्। आफू जेलभित्रको अध्यारो कुनामा खुम्चिएर बसिनन्। बरु गुम्सिएकाहरूको नाइके बनिन्। त्यसैले त उनको कैद सजायमा १६ महिना मिनाहा भयो।

मेरिना निस्कने प्रक्रिया पूरा हुँदैगर्दा सुधार गृहभित्र रहेकाहरू उनलाई नै हेर्दै थिए। हेर्नेहरूको आँखा रसाएको देख्दा उनका बुवाको पनि थामिएनन्। फूलका गुच्छा र खादा लगाइदिनेहरूसँग बिदा माग्दै गर्दा बुवाले सोचे – यहाँ बडो संघर्षपछि रमाउन थालेकी थिई। अब समाजमा फर्किएर गर्नुपर्ने संघर्ष कति कठिन होला?

'खराब मान्छेसँग छुट्टिनु पर्दा त को दु:खी हुन्छ र? मेरी छोरीको बिदाइमा कैदीदेखि प्रहरीको आँखामा आँशु देखेँ। लाग्यो – उसले पक्कै असल मान्छे हुनुको धर्म निभाई,' मेरिनाका बुवाले भने।

उनको कैदी जीवनलाई उमेर, दबाब र प्रभावका कारण भएको दुर्घटना मान्छन् मेरिनाका बुवा। उमेरसँगै परिपक्व बन्दै गइन्। कैद काटिरहँदा गरेको सिर्जनात्मक र जिम्मेवार कामहरूले आफूहरूलाई पनि राहत दिएको सुनाए उनले। 'आमाबुबाको लागि त छोराछोरी सधैँ बच्चै हुन्छन्। बच्चाले जेलमा समय कसरी कटाउलिन् भन्ने पीर थियो। सुरुसुरुमा त रुन्थिन्। तर बिस्तारै पढ्न थालिन्। अघि बढ्न थालिन्। ऊ तङ्ग्रिँदै जाँदा हामीलाई ढुक्क हुन थाल्यो,' उनले भने।

त्यसपछि धैर्यता र हतार बिचको बाटोमा हिँडिरह्यो मेरिना र उनको परिवारको समय।

+++

एसएलसीमा ८६.८७ प्रतिशत आएको खबरले खुशी दिएको थिएन उनलाई। कतिन्जेल दु:खी रहने? त्यो पनि थाहा थिएन। तर, भित्री मनले सधैँ भनिरह्यो – जे मैले चाहेर, जानेर वा बुझेर गरेको थिइँन त्यसको सजाय भोग्दैछु।

आमाबुबाले भनिरहे - पढाई त तिमीले चाहेको कुरा हो। चाहेर र बुझेर गरेको कामको नतिजा पक्कै गलत हुँदैन। पढ, हामी साथमा छौं।

त्यो हौसला र आग्रहकै कारण पढाईलाई निरन्तरता दिने अठोट लिइन्। २०६७ सालमा कान्तिपुर इन्टरनेशनल कलेजमा भर्ना भइन्।

जेलभित्रै किताब, कलम र कापी समाइन्। त्यसपछि वर्ष दिन लामो रुवाइ र एकालापबाट विश्राम पाइन्। अक्षर र सिकाइसँगको यात्रा सुरु भएपछि उनमा छाएको तनाव र नैराश्यता कम हुँदै गयो।

व्यवस्थापन विषयमा प्लस टू सकिन्। एक्लै बसेर पढेको र मिहेनत गरेको भरमा। न कसैको सारिन् न चोरिन्। उसो त सधैँ अरुको लय समात्नु सही हुँदैन भन्ने कुरा जिन्दगीले बुझाइ सकेको थियो उनलाई।

करिब पाँच वर्षअघि मेरिनाले पहिलोपोस्टसँग भनेकी थिइन्, 'जिन्दगीमा परेर ठूलो पाठ सिकेँ। तर, पढेर पुगेको थिएन।'

त्यसैले त उनी जीवन र पढाइको हरेक परीक्षामा एक्लै उभिइन्।

सुरुमा उनलाई कारागारको वातावरणमा कसरी पढ्ने होला भन्ने पीर थियो। आफूसँगै थुनिएका देखि महिला प्रहरीहरूले प्रोत्साहित गरे। त्यस्तो वातावरण दिए जहाँ उनी स्वअध्ययन गर्न सक्थिन्। उनले विषयहरूलाई हेर्ने दृष्टिकोण पनि बद्लिँदै गएको सुनाइन् अध्ययनका कारण।

भनेकी थिइन् – सुधार गृहमा साँच्चै सुध्रने अवसरहरू पाइन्छ। आत्मालोचनादेखि परिवर्तनका लागि हौसला पाइन्छ। तर, समाज अझै पनि गल्ती गर्नेलाई भूल सुधार्न सिकाउनुको सट्टा गाली गरेर बस्ने स्तरमा छ। जसले गर्दा मोटिभेसन नै गलत जान्छ, विशेष गरी सिक्दै गरेकाहरूमा।

त्यतिबेलै मेरिना आफूले अनुभव गरेका भोगेका, सिकेका र बुझेका कुराहरूबाट पनि सकारात्मक उत्प्रेरणा दिनसक्ने विश्वास राख्थिन्।

कान्तिपुर कलेजबाटै बीबीएस् सक्काइन्। एमबीएस् र एमए गरिन्। दुई फरक विषयको डिग्री हातमा पर्दासम्म उनी कैदी कम प्रहरीको सहयोगी ज्यादा बनिन्।

बन्दीहरुको पेशी तयारीमा सहयोग गर्ने, फारमहरु भर्न सघाउने, निवेदन नै लेखिदिने। जेलर लक्ष्मीप्रसाद बास्कोटाका अनुसार नाइकेको भूमिका निर्वाह गरिन् उनले। कहिले विदेशी कैदीबन्दीका लागि दोभाषे बनिन् त कारागारभित्रै रहेको विद्यालयको प्रधानाध्यापकसमेत रहिन्।

कारागारभित्र परिवार र आफन्त बनाइन्। धेरैका लागि शिक्षक बनिन्। आफू स्वयंले जति सिकिन् त्यसको हिसाब झन् कहाँ हुनु? केही रकम आम्दानी पनि भयो। तर, सबैभन्दा धेरै कमाइन् सम्बन्ध।

'हामीले त जन्म दियौं अनि हुर्कायौं। आवश्यक समयमा साथ, माया, सम्मान र सहयोग त अन्य बन्दीदेखि कारागारमा खटेका सुरक्षाकर्मीले दिए,' मेरिनाका बुवाले भने, 'छोरीले घरबाट पर रहेर पनि परिवार पाइन्। थुनिएकै ठाउँमा बेग्लै संसार बनाइन्। अब समाजको प्रश्नले असर पार्छ कि भन्ने डर चाहिँ छ।'

तर, मेरिनामा त्यो त्रास फिटिक्कै छैन। उनी पहिले चाहिँ आत्तिन्थिन् समाजले गर्ने टिप्पणीसँग, उनीप्रति बन्ने धारणासँग। तर, जेलमा उनले अनेक घटनाहरू देखिन्, सुनिन्। तिनै घटनाबारे पहिलोपोस्टसँग धारणा राखेकी थिइन्, 'समाजमा नकारात्मक विषयहरूले ठाउँ चाँडै पाउने रहेछन्। सोही विषयमा भएको वा हुनसक्ने सकारात्मक परिवर्तन स्वीकार्न सक्ने निकै कम छन्। त्यसैले मैले आफ्नो ठाउँबाट परिवर्तनको लागि प्रयास गर्नुपर्छ।'

लुक्नु, भाग्नु, लजाउनुले कहीँ नपुर्‍याउने बुझाइ हो उनको।

+++

घर फर्किएको भोलिपल्ट बिहानै दैलोबाहिर निस्किइन् मेरिना। आफू जन्मे हुर्किएको ठाउँ वरपर घुमिन्। संरचनाहरू बद्लिएछन्। उनलाई हेरेर हाँस्ने अनुहारहरू भने उहीँ। फरक यति हो, पहिले – नानी कहाँ जान लागेको? भनेर सोध्नेहरूले सोधे – नानी कहिले आयौ?

प्रायले उनी फर्कनुको खुशी व्यक्त गरेको सुनाउँछन् मेरिनाका बुवा।

मेरिनाले चाहिँ पहिलो दिन घर बाहिर डुल्नुको अनुभव परिवारसँग साटिन्। भनिन्, 'अँध्यारोबाट उज्यालोमा आउँदा आँखा थोरै तिरमिरायो। बिस्तारै सबै ठीक हुन्छ।'

जीवनसँग आशावादी छिन् उनी। अब कसरी अघि बढ्ने? अन्यौलता र योजनाहरू त छँदैछ। लोकसेवाको तयारी पनि गरिरहेकी छिन्। अनि कानून पढेर अन्यायमा परिरहेकाहरूको लागि लड्ने योजना पनि बनाएकी छिन्।

कारागारमा रहेर, अदालत धाएर र कागजी कामहरूमा संलग्न भएर कानूनी विषयसँग नजिक भएको बताउँछिन् उनी। ज्ञानको दायरा फराकिलो बनाउन एलएलबी गर्ने योजना बनाएकी उनले घरमा भनेकी छिन्, 'पढेर र परेर कहिले पनि सकिँदैन होला। म पढेर, पर्न नहुने समस्यामा परेकाहरूका लागि धेरै गर्न चाहन्छु।'

केही समय आफन्त र साथीभाइ भेटघाटमा बिताउने योजना छ उनको। वर्षौं बन्द रहँदा देख्न र सुन्न छुटेका विषयहरूलाई नजिकबाट नियाल्नु छ। बाह्य संसार कसरी अघि बढिरहेछ बुझ्नु छ उनलाई।

मेरिनाले स्वतन्त्र जीवन पाउनुको उत्सव मनाइरहेको छ उनको परिवार, विगत बिर्सिएर। उनले कारागारमा छाडेर आएको सुखद् छापका लागि धन्य छन्। 'अब समाजका लागि केही गरोस्। उसको नयाँ संघर्षमा हामी साथ दिन्छौं,' मेरिनाका बुवाले सुनाए, 'अनावश्यक प्रश्न, दवाव र गालीले उसको मनोविज्ञानमा असर नपारोस्, हामी यति नै चाहन्छौं।'

बाहिरी दुनियाँका लागि छोरी नाजुक हुनसक्ने लाग्छ उनकी आमालाई। मेरिनाको रिहाइको खबरमा आएका केही प्रतिक्रिया पढेकी रहिछिन् उनले। 'गाली बेइज्जतीबाट पर राख्‍नु छ। उसलाई फेसबुक, युट्युबतिर भाइरल नबनाउन के गर्नुपर्छ?,' मेरिनाकी आमाको चिन्ता देखाइन्।

मेरिनाका बुवा भने सामाजिक सञ्जालमा गाली गर्नेहरूका कारण विचलित नहुन सुझाउँछन्। किनकि उनकी छोरीले कलिलो उमेरमै जे भोगिन् त्यो समस्या अजङ्गको थियो। धैर्यताले त्यस भूमरीबाट बाहिर निकालेको तर्क राख्छन् उनी। 'कानून र जीवन दुवैले हाम्री छोरीलाई दोस्रो मौका दिएको छ। अब उनी प्रश्नसँग नडराइ बाँच्नेछिन्,' छोरीप्रति उनी थप आत्मविश्वासी र गर्विलो सुनिए।

सम्बन्धित स्टोरी :

एसएलसी दिँदै आजन्म कारावास सजाय पाएकी मेरिना अहिले के गर्दैछिन्?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell