PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माया फेरि बलात्कृत भइन्



माया फेरि बलात्कृत भइन्

  • भुमिका कुमारी बिष्ट-

सुदूरपश्चिमकी माया एकपटक फेरि बलात्कृत भइन्। बाहिर होइन आफ्नै घरमा। त्यो पनि आफ्नै नजिकको नातेदार दाजुबाट।

आफू १५ वर्षे पुगे पनि चारपाँच वर्षको बच्चा जस्तै व्यवहार गर्छिन् माया। उनलाई सरसफाई र खाना खुवाउने काममा अरुले सघाउनु पर्छ। माटो खेल्न मन पराउने उनलाई अरुले भनेका कुरा याद रहँदैन। एउटै कुरा दोहोर्‍याइ रहन्छिन्। उनको महिनावारी पनि सुरु भैसकेको छ। यी कुरा उनले बुझ्दिनन्। घरिघरि घरबाट फुत्तबाहिर निस्किन्छिन र हराउँछिन्। हरेक दिन उनलाई खोज्न निस्कनुपर्छ। उनको यो व्यवहारले परिवार दिक्क भएको छ।

घरमा हालसालै भएको माथिको घटनाले भने मायाको परिवारमा तरंग ल्याइदिएको छ। दाइ नाता पर्नेले मायाको अवोधपनको फाइदा उठाइरहेको उनकै भाउजु निर्मलाले देखेकी थिइन्। निर्मलालाई यो कुरा सह्य भएन। उनले सासुलाई (मायाको आमा) तुरुन्त यो कुरा सुनाइन्। मायाकी आमाले भने यो कुरा बाहिर ल्याउन सकिनन्। ‘कसले के भन्ला, मायालाई केही होला कि?’ आमाको मनमा यस्तै कुरा खेलेको थियो। निर्मलाले प्रहरी उजुरी गर्ने कुरा गर्दा आमाले उल्टै रोक्नु भयो। तर बौद्धिक अपांग भएकी मायाको जीवनमा घटेको यो पहिलो घटना भने थिएन।

तीन वर्षअघिको कुरा। गाउँमा अन्नबाली भित्राउने चटारो थियो। मायाको घरमा कोही थिएनन्। खेतको काम सकेर साँझ आमा घर फर्किदा माया घरमा थिइनन्। छिमेकीको घरमा गएकी होलिन् भनेर खोजी गरियो तर उनी फेला परिनन्। धेरै ठाउँ चाहरे पनि नभेटेपछि रातभरी आमा निदाउन सकिनन्। बिहान झिसमिसे उज्यालोमा मायाकी आमाले गाउँमा सबै आफन्तलाई खबर गरिन्।

उनी हराएको खबर फोटोसहित फेसबुक लगायतका सामाजिक सन्जालमा छायो। प्रहरीमा पनि पुग्यो। सोधी खोजी गर्दै गर्दा एकजनाले मायाजस्तै केटी राजमार्ग जाने सडकमा देखेको बताए। तर माया भेटिनन्। दुई दिनपछि नजिकैको अस्पताल छेउ एउटा केटी बेहोस अवस्थामा फेला परेको खबर आयो मायाकी आमालाई। सबै आत्तिदै त्यहाँ पुगे। त्यो बेहोस भेटिएकी केटी माया नै थिइन्। शरीरमा पुरै कपडा थिएन। यौनांगबाट रगत बगिरहेको थियो। मायालाइ अस्पतालमा लगियो। चेकजाँचमा उनको बलात्कार भएको पुष्टि भयो। तर परिवारले अपराधी पत्ता लगाउन प्रहरीमा उजुरी गरेनन्। मायाको सामान्य उपचारपछि उनलाइ घर ल्याइयो। मायामाथिको त्यो अपराध त्यही दबियो।

मायामाथिको अपराध त उनी आमाको पेटमा छँदैबाट सुरु भएको थियो। पेटमा छोरी भएको थाहा पाएकी थिइन् उनकी आमाले। परिवारको दबावमा फाल्न बाध्य पार्न थालियो। छोरी भएकै कारण फाल्न दबाब बढेपछि उनले गर्भ फाल्ने औंषधी जथाभावी सेवन गरिन्। गर्भ त खेर गएन बरु बौद्धिक विकास नभएकी मायाको जन्म भयो। यसले मायाकी आमालाई झनै समस्यामा पार्‍यो।

छोरी बढ्दै गएपछि केही सुधार होला कि भन्ने आशा उनकी आमालाई थियो। तर आशा आशा मात्र रह्यो। दश वर्षकी हुँदा मायालाई सरकारी बाल गृहमा पठाइन् उनले। महिनामा एक पटक घर पठाइथ्यो। मायाको लागि घरबाट पनि कपडा पठाउथिन् उनकी आमाले। बालगृहमा माया जस्ता केटी र केटासँगै राख्छन् भन्ने पनि मायाकी आमाले थाहा पाएकी थिएन्। डेढ वर्षमै माया धेरै दुब्लाइन्। छोरीले राम्ररी खाना खान पाइनन् कि भन्ने उनकी आमालाई लाग्यो। अझ् केटाकेटीसँगै राख्दा छोरीलाई अफ्ठ्यारो पो पर्ने हो कि भन्ने पनि उनको मनमा आयो। आफन्तले पनि त्यस्तै कुरा सुनाइदिए। मायालाई त्यहाँ राख्न मन लागेन र डेढ वर्षपछि सिधै घर ल्याइन्।  ‘घरभित्र भएपछि छोरी सुरक्षित हुन्छे’ भन्ने आमाले सोचेकी थिइन्। यसपटक भने घरभित्रै पनि माया सुरक्षित भइनन्। ‘छोरीको माया कुन आमालाई नहोला र?’ तर पनि समाजको डरले मायाकी आमाको मुख खुल्न सकेको छैन। यसले मायालाई झनै असुरक्षित बनाइरहेको छ।

आजकल माया पहिलाको झैं घरबाहिर डुल्न थालेकी छिन्। कहिले त उनलाई शरीरमा कपडा भए नभएको पत्तो हुँदैन। दिनभरी उनलाई देख्नेहरू घृणा गर्छन्। तर त्यही घृणित शरीर दुई पटक बलात्कारको शिकार भैसकेको छ। के गर्ने होला? अब के होला? मनमा तिखा प्रश्नहरूको सियोले घोच्दैछ किनकी उनीमाथि अपराध गर्नेहरू अझै पनि गाउँ डुलिरहेका छन्। ([email protected])



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell