काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएको छ। वडा तहको अधिवेशन आउन अब १२ दिनमात्र बाँकी छ।
तर कांग्रेसले क्रियाशील सदस्यता अझै फाइलन गर्न सकेको छैन। योसँगै असार ३० गते सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यको फाइनल नाम सार्वजनिक गरी साउन १२ बाट देशभरका वडा तहमा अधिवेशन शुरु हुने कार्यतालिका प्रभावित भएको छ।
क्रियाशील सदस्यतामा विवाद देखिएपछि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा आनन्दप्रसाद ढुंगाना, श्यामकुमार घिमिरे, जीवन परियार, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरीको छानबिन समितिले यसको टुंगो लगाउन प्रयासरत छ। असार पहिलो सातादेखि नै छानबिन समितिले गौशालास्थित धर्मशालामा बसेर काम गरिरहेको छ।
१३औँ महाधिवेशनमा कांग्रेस क्रियाशील सदस्यको संख्या चार लाख ७० हजार रहेकोमा दोब्बर बढ्ने अनुमान गरिएको छ। अहिलेसम्म कांग्रेसमा आठ लाख ५२ हजार बढी सूचीकृत भइसकेका छन्।
तर यही बीचमा कांग्रेस केन्द्रीय कार्यालयमा बाराका नेता कार्यकार्ता धर्नामा छन्। बुधवार कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पुगेर धर्नामा एक्यबद्धता जनाएका थिए।
कांग्रेस सभापति देउवा सरकारको नेतृत्वमा पुगेसँगै महाधिवेशनको मिति प्रभावित भएको हो। देउवाले आजका लागि बोलाएको पदाधिकारी बैठकसमेत उनको व्यस्तताले भोलिका लागि सारिएको छ।