वीरगंज : सूर्य नेपालले नारायणी अस्पताल वीरगंजलाई सहयोग स्वरुप स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपालका महाप्रबन्धक प्रभाकर विक्रम शाहले नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र बहादुर प्रधानलाई ह्विल चेयर १२ थान, प्यासेन्ट मोनिटर १० सेट, एबीजी मेशिन १ सेट गरी ४० लाख रुपैयाँ बराबरको उपकरणहरु हस्तान्तरण गरेका हुन्।
महाप्रबन्धक शाहले नारायणी अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा रुपान्तरण गर्न सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताए। उनले नारायणी अस्पताललाई प्रभावकारी सेवा प्रवाह गर्ने अस्पतालको रुपमा स्थापित गराउनु पर्नेमा जोड दिए।
सो अवसरमा अस्पतालका मेसु डा वीरेन्द्र बहादुर प्रधानले प्राप्त स्वास्थ्य उपकरणले अस्पतालको संस्थागत क्षमता अभिवृद्धिमा थप सहयोग पुगेको बताए। प्राप्त उपकरणको उच्चतम प्रयोग गर्ने बताउँदै उनले सहयोगका लागि सूर्य नेपाललाई धन्यवाद समेत दिए।