वीरगंज : पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई एक समारोहका बीच १० लाख रुपैयाँ बराबरको २१ थान सीसीटीभी क्यामेरा हस्तान्तरण गरेका छन्।
कार्यक्रममा सांसद यादवले आफ्नो संसदीय कोषबाट व्यवस्थित एवं सुरक्षित वीरगंजको अवधारणा अनुसार वीरगंज उद्योग वाणिज्य संघको अगुवाईमा स्थानीय प्रशासन र प्रहरीको सहकार्यमा गठित सेफर वीरगंजलाई २१ थान सीसीटीभी क्यामेरा हस्तान्तरण गरेका हुन्।
उनले सीसीटीभी क्यामेराबाट वीरगंज नगरको सुरक्षा व्यवस्थामा थप सहयोग पुग्ने विश्वास लिएको बताए। यसैगरी रजत जयन्ती चोकदेखि परवानीपुर चोक हुँदै ड्राईपोर्टसम्मको ट्राफिक लाइटको आवश्यकता देखिएका चोकहरुको पहिचान गर्न र लाइनको व्यवस्थापनको लागतको अध्ययन गर्न प्रहरी उपरीक्षकसँग उनले आग्रह गरे। सोमा लाग्ने खर्चको व्यवस्थापन आफूले गर्ने उनले बताए।
सो सीसीटीभी क्यामेरा वीरगंज उद्योग वाणिज्य संघ-सेफर वीरगंज समितिको प्रत्यक्ष निरीक्षणमा जडान भई शिघ्र सञ्चालन आउने जानकारी संघका अध्यक्ष सुबोध कुमार गुप्ताले बताए। यसैगरी, वीरगंजको शान्ति सुरक्षालाई मध्यनजर गरी संघको अग्रसरतामा वीरगंजमा जडान भएका सीसीटीभी क्यामेराका लागि थप आवश्यक दक्ष जनशक्तिका लागि संघका अध्यक्षले कार्यक्रममा सहभागी पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डेको ध्यानाकर्षण गराए।