७५ वर्षीया बलिउड अभिनेत्री सुरेखा सीकरी (दादिसा)को आज निधन भएको छ। हृदयघातका कारण उनको शुक्रवार बिहान निधन भएको सुरेखाका म्यानेजरले बीबीसीसँग बताए।
सुरेखा केही महिनादेखि बिरामी थिइन्। गत वर्ष उनलाई मस्तिष्कघात पनि भएको थियो।
टेलिसिरियल ‘बालिका वधु’मा उनले दादीसा (हजुरआमा)को भूमिका निभाएकी थिइन्। जुन भूमिकाबाट उनले निकै चर्चा बटुलेकी थिइन्।
सुरेखाले सन् १९७८ मा ‘किस्सा कुर्सीका’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन्। उनले ‘तमस’ (सन् १९८८), मम्मो (सन् १९९५) र ‘बधाई हो’ (सन् २०१८) बाट सहायक अभिनेत्रीका लागि राष्ट्रिय पुरस्कार समेत पाएकी थिइन्।
उनी अभिनित फिल्म ‘किस्सा कुर्सीका’ सन् १९७८ मा इन्दिरा गान्धीमाथि बनाइएको थियो। अमृत नाहटाको निर्देशन रहेको उक्त फिल्ममाथि सञ्जय गान्धीले संकटकालीन समय (१९७५-७७) मा प्रतिबन्ध लगाएका थिए। पछि मात्रै उक्त फिल्म रिलिज भएको थियो।