जनकपुरधाम : नेकपा (माओवादी केन्द्र)बाट नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेसँगै प्रदेश २ सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ। प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरत प्रसाद साह र रुवी कर्णले पद तथा गोपनियताको शपथ लिएका हुन्।
साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्य मन्त्रीको जिम्मेवारी दिइएको हो। नवनियुक्त दुवै मन्त्रीको शपथ ग्रहणको समय अपराह्न ३ बजे निर्धारण गरिएको थियो। तर, शपथ ग्रहण समारोह डेढ घण्टा अबेर गरेर मात्रै शुरु भयो।
नवनियुक्त मन्त्री साहले शपथको भाषाको विषयमा कुरा नमिलेका कारण शपथ ग्रहण समारोह ढिलो गरी शुरु भएको बताए। मन्त्रीद्वयले मातृभाषा मैथिलीमा शपथ लिने अडान लिएका थिए। तर, कानुन अभावका कारण राष्ट्रिय भाषा नेपालीमा शपथ लिनु परेको मन्त्री साहले बताए। शपथ ग्रहण लगत्तै उनले मातृभाषामा शपथ लिने सम्बन्धी अध्यादेश ल्याउने प्रतिबद्धता व्यक्त गरे।
नवनियुक्त मन्त्रीद्वयले प्रदेश प्रमुख राजेश झा (अहिराज)लाई मैथिली भाषामा प्रतिकात्मक शपथको पत्र समेत बुझाएका थिए। नवनियुक्त दुवै मन्त्रीले शपथमा ईश्वर शब्द उच्चारण गरेनन्। मन्त्री साहले ईश्वरको साटो कुनै शब्द उच्चारण नै गरेनन् भने राज्यमन्त्री कर्णले ईश्वरको सट्टा शहीद शब्द उच्चारण गरिन्।