PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस मकवानपुरको क्रियाशील सदस्यता विवाद समाधान गर्न भयो सहमति



कांग्रेस मकवानपुरको क्रियाशील सदस्यता विवाद समाधान गर्न भयो सहमति

हेटौँडा : नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बाँनियाको कदमविरुद्ध केन्द्रीय कार्यालय काठमाडौंमा नेताहरुले दिएको धर्ना स्थगित भएको छ। आफ्ना मागहरुको सम्बोधन भएको भन्दै आन्दोलनरत पक्षले धर्ना स्थगित गरेको हो।

मकवानपुरका सभापति बाँनियाले विधान विपरीत एकलौटी ढंगले नयाँ क्रियाशिल सदस्यता वितरण गरेको भन्दै केन्द्रीय कार्यालयमा केही नेताहरुले धर्ना दिएका थिए। उनीहरुले तत्कालिन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का सदस्यहरुको समायोजन गरेको नाउँमा अवैधानिक तबरले २१ जनाको नाम थप गरिएको समेत आरोप लगाएका थिए।

आन्दोलनरत नेपाली कांग्रेस मकवानपुरका नेता माईकल रामचन्द्र अर्याल, नेपाल विद्यार्थी संघका महामन्त्री प्रभात दाहालसहितका नेताहरुले आफूहरुको मागलाई सम्बोधन गर्ने सहमति गरेको भन्दै धर्ना स्थगित गरिएको जनाएका छन्।

नेविसंघका महामन्त्री दाहालले भने, ‘हेटौँडाको दुई वटा वडाहरुको समस्या समाधान भएको र फोरम लोकतान्त्रिकबाट दिइएको भनिएको सदस्यता नदिने कुरा भएपछि हामीले धना स्थगित गरेका छौँ।’

मकवानपुर कांग्रेस नेतृत्वले कपोकल्पित ढंगबाट हेटौँडा वडा नम्बर २ र ९ सहितका सदस्यलाई क्रियाशिल सदस्य बनाएको, फोरम लोकतान्त्रिकको नाउँबाट २१ जनालाई चुनावी प्रयोजनको लागि क्रियाशिल सदस्य दिइएको भन्दै कांग्रेस नेताहरु केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका थिए।

उनीहरुले वडा नम्बर २ र ९ को अवैध क्रियाशिल सदस्य कटौती, फोरम लोकतान्त्रिकको समायोजन कटौती लगायत माग राखेका थिए। कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा बाँनियाले आफ्नो सचिवालयका मिलन पुडासैनीसहित सुनिल दाहाल, मिठाराम दाहाल, युवाराज लामा, अञ्जना उपाध्याय, सीता नेपाल, चेतकुमारी न्यौपाने, प्रकाश बर्तौला, प्रमिला खतिवडासहित २१ जनाको क्रियाशिल सदस्य सिफारिस गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell