PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बार्सिलोना र मेस्सीको करारमा के छ कठिनाइ?



बार्सिलोना र मेस्सीको करारमा के छ कठिनाइ?

लियोनल मेस्सी बार्सिलोनामै रहने खबर आएसँगै मेस्सी समर्थकहरुमा सास आएको छ। बुधवारको मिडिया रिपोर्टहरुमा अर्जेन्टिनी कप्तान मेस्सी बार्सिलोनासँग करारको लागि सहमत भएको र अब मात्र औपचारिक घोषणा हुन बाँकी रहेको दाबी गरिएको थियो। सन् २००० यता बार्सिलोनामा रहेका मेस्सी अहिले फ्री एजेन्ट छन्। उनको पछिल्लो करार जुन ३० मा सकिएको थियो। उनी अहिले क्याम्प नोउमा बस्न तयार भएका छन् जबकी एक वर्ष अघि उनले बार्सिलोनाका तत्कालीन अध्यक्ष जोसेफ मारिया बर्टोमउलाई ब्युरोफ्याक्स गर्दै आफूले बार्सिलोना छाड्न चाहेको बताएका थिए। हालै कोपा अमेरिका अर्जेन्टिनाले जित्दा उत्कृष्ट लयमा देखिएका उनी अबको ५ वर्ष बार्सिलोनामै रहने चर्चा छ।

तर यसको अहिलेसम्म किन औपचारिक घोषणा भइसकेको छैन? करारका लागि के कुरा बाँकी रहिरहेको छ? यी प्रश्नहरु भने उब्जिएका छन्।

पाँच वर्षे करार जुन २ वर्षको हुन सक्छ

पछिल्लो समय आइरहेका दाबीहरुमा मेस्सीले पाँच वर्षे करार गरेको चर्चा छ। अर्थात उनी २०२६ सम्म बार्सिलोनामा रहने तर्क। तर अर्को थरीले भने बार्सिलोनाका १० नम्बर जर्सीमा खेल्ने यी खेलाडीले दुई वर्ष बार्सिलोनाबाट खेल्ने र बाँकी समय अमेरिकी लिग (एमएलएस)मा बार्सिलोनाको एम्ब्यास्टरका रुपमा रहने गरी करारको तयारी भएको दाबी गरेका छन्।

घटेको तलब

मेस्सीको यसअघिको तलब ५०० मिलियन युरो थियो जुन प्रोफेसनल फुटलबलका लागि धेरै आकर्षित तलब थियो। बार्सिलोनाका यसअघिदेखिकै बिग्रँदो वित्तिय अवस्था र कोभिड १९ ले निम्ताएको संकटले गर्दा तलब कटौती निश्चित थियो। त्यसैले आधा तलबमा करारको तयारी चलिरहेको सञ्चारमाध्यमहरुले दाबी गरेका छन्।

त्यसमाथि मेस्सीको ५० प्रतिशत तलब कटौतीपछि पनि ला लिगाको आर्थिक नियन्त्रणको पाटो बाँकी नै रहन्छ। बार्सिलोनाले मेस्सीलगायत सर्जियो अग्युरो, मेम्फिस डिपे, एरिक गरसियालगातका यो समरमा साइन गरेका खेलाडीको दर्ता ला लिगामा गराउनु पर्ने हुन्छ। बार्सिलोना पछिल्लो समय आय र बचतको हिसाबले ती रिक्वायरमेन्ट पुरा गर्न संघर्ष गरिरहेको छ। त्यसैले मेस्सीमाथिको लगानी कटौतीको बावजुत केही वर्ष प्रभावित हुने देखिन्छ।

स्टार खेलाडी कटौती

बार्सिलोनाले यसपटक ट्रिनकाओ, जुनियर फिर्पो, कोनराड डे ला फुएन्टे, कार्लेस एरेनालगायतका खेलाडी बेचिसकेको छ। तर सन्तुलन बनाउनका लागि यो 'हात्तीको मुखमा जीरा' मात्र हुनेछ। मेस्सीका लागि स्पेस तयार गर्न अर्का ठूला स्टारले बार्सिलोना छाड्न पर्ने हुन्छ। जसमा सम्भावित खेलाडी देखिएका छन्, ओसमाने डेम्बेले, एन्टोनी ग्रिजमन या फिलिपे काउन्टिन्हो। यसमा ग्रिजमनलाई एट्लेटिको पठाएर सउल भित्र्याउने चर्चा चलिरहेको छ।

स्पोन्सर चाहन्छन्: मेस्सीसँगको डिल चाँडो होस्

मेस्सीसँगको करारको चर्चा चलिरहँदा बार्सिलोनाले स्पोन्सरहरुसँगको करारलाई पनि ध्यान दिनुपर्ने हुन्छ। स्पोन्सरले यो अस्थिरता भन्दा चाँडो भन्दा चाँडो मेस्सीको करार पुरा भएको हेर्न चाहन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell