PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अमेरिकी राजदूतलाई साथै लिएर खोप केन्द्रको अनुगमनमा निस्किए प्रधानमन्त्री देउवा



अमेरिकी राजदूतलाई साथै लिएर खोप केन्द्रको अनुगमनमा निस्किए प्रधानमन्त्री देउवा

काठमाडौं : देशभर आजबाट जोन्सन एन्ड जोन्सनको कोभिड १९ विरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रबाट कोभ्याक्स सहयोग मार्फत् आएको अमेरिकी खोप  स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर खोप कार्यक्रम सुरु गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी खोप कार्यक्रम सुरु गर्दै काठमाडौं र ललितपुरमा रहेका कोभिड १९ खोप केन्द्रहरुको निरीक्षण समेत गरेका छन्।

देउवासँगै अमेरिकी राजदूत र्‍यानडी बेरी सहितको टोलीले जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रभित्र रहेको अर्थोपेडिक अस्पताल, महाराजगंजको शिक्षण अस्पताल, वीर अस्पताल, सामाखुशीमा संचालित खोप केन्द्र र ललितपुरको कुपण्डोलमा रहेको खोप केन्द्रको अनुगमन गरेको हो।    

खोप केन्द्रको निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप दिनु रहेको बताए। सरकारले सबैलाई नि:शुल्क खोप दिने र त्यसका लागि आवश्यक खोप खरिद प्रक्रिया अघि बढाइने समेत बताए।

देउवाले खोप केन्द्रलाई व्यवस्थित बनाउन समेत निर्देशन दिएका छन्। यसअघि खोप केन्द्रहरुमा धेरै भिड भएको भन्‍दै स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हालेका देउवाले खोप केन्द्रको संख्या बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्न निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell