PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

क्रियाशील विवादले प्रभावित हुँदै कांग्रेस महाधिवेशन, ‘१२ गते वडा तहको अधिवेशन सम्भव नै छैन’



क्रियाशील विवादले प्रभावित हुँदै कांग्रेस महाधिवेशन, ‘१२ गते वडा तहको अधिवेशन सम्भव नै छैन’

काठमाडौं : नेपाली कांग्रेसका नेता डा रामशरण महतले साउन १२ गतेबाट हुने भनिएको पार्टीको वडा तहको अधिवेशन सम्भव नभएको बताएका छन्। आज देउवाइतरका नेताहरुको बैठकमा क्रियाशील सदस्यता वितरणमा अनियमितता भएकोबारे छलफलपछि महतले स्थानीय तहको अधिवेशन तोकिएको समयमा नहुने आफूले देखेको बताएका हुन्।

‘आज क्रियाशील सदस्यता वितरणको बारेमा छलफल भयो। तराईमा विकृति छ, पहाडमा पनि विकृति छ’, डा महतले पहिलोपोस्टसँग भने, ‘विधिपूर्वक जाने हुनुपर्छ।’

पार्टीको केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै नेता कार्यकर्ता धर्नामा छन्। सप्तरी, सिरहा, बारालगायत जिल्लाहरुमा विकृति देखिएको उल्लेख गर्दै महतले क्रियाशील नै टुंगो नलागेको अवस्थामा अधिवेशन सम्भव नहुने बताए।

‘१२ गते सम्भव नै हुँदैन। क्रियाशील नै टुंगो लागेको छैन,’ महतले भने।

महामन्त्री डा शशांक कोइराला निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, प्रदीप पौडेललगायत सहभागी थिए।

रमेश लेखक संयोजक रहेको क्रियाशील छानबिन समितिले आफ्नो काम टुंगो लगाइसकेको बताए पनि सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउन सकेको छैन। यता सत्ताको नेतृत्व सम्हालेपछि देउवाको दैनिकी व्यस्त हुन थालेको छ। योसँग नेपाली कांग्रेसको महाधिवेशनसमेत प्रभावित हुने देखिएको छ।

कांग्रेसले असार ३० मा क्रियाशील सदस्यता फाइनल गरेर साउन १२ बाट अधिवशेन थाल्ने कार्यतालिका बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell