PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

निर्माणाधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार



निर्माणाधीन विद्यालय भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार

बुटवल : गुल्मीमा निर्माणाधिन विद्यालयको भवन अलपत्र पारेर निर्माण व्यवसायी फरार भएका छन्। जिल्लाको मदाने गाउँपालिका वडा नम्बर ६ मा रहेको धाराचौर आधारभुत विद्यालयमा निर्माण गर्न लागिएको विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन्।

भारतीय राजदूतावासको सहयोगमा शौचालयसहित निर्माण गर्न लागिएको विद्यालयको २० कोठे भवन निर्माण सम्पन्न नगरी निर्माण व्यवसायी सम्पर्कविहीन रहेको विद्यालयले जनाएको छ। विद्यालयको भवन निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा कुल १ करोड ६६ लाखमा टेण्डर आह्वान भएको थियो।

२०७३ मा काठमाडौंको नयाँ बानेश्वरमा रहेको ‘प्रवेश ब्रदर वशिष्ठ शुभनारायण जेभी कन्स्ट्रक्सन’ले ९९ लाखमा निर्माणको जिम्मा पाएको विद्यालयका प्राधानाध्यापक विष्णु घिमिरेले बताए।

२०७५ असोजमा सक्ने गरी उसले निर्माणको जिम्मा पाएको थियो। विद्यालयको भवन निर्माण गर्न शुरु गरी विभिन्न बहानामा २ पटकसम्म म्याद थप गरी भवन निर्माणको काम ढिलासुस्ती रुपमा निर्माण व्यवसायी दिनेश लामाले गरिरहेका थिए।

पछिल्लो पटक थपिएको म्याद २०७७ माघमा सकिएको छ। तर, निर्माण व्यवसायी लामा विद्यालयको सम्पर्कमा छैनन्। अघिल्लो वर्षको माघमा विद्यालय निर्माणका लागि थप गरिएको म्याद समेत सकिएको यति धेरै समय बितेपनि निर्माण व्यवसायी लामा कसैसँग सम्पर्कमा नरहेको विद्यालयका प्राधानाध्यापक घिमिरेले जानकारी दिए।

‘विद्यालयको भवन अलपत्र पारेर निर्माणको जिम्मा पाएका ठेकेदार दिनेश लामा हामीसँग सम्पर्कविहीन छन्’, विद्यालयका प्राधानाध्यापक घिमिरेले भने, ‘ठेकेदारले भवनको २५ प्रतिशत काम बाँकी छाडेर करिब ७५ लाख रकम भुक्तानी लिएर फरार भएका हुन्।’

विद्यालयको भवन निर्माण सम्पन्न गर्न स्वीकृति लिएको मितिले १५ महिनाभित्र अर्थात् २०७५ असोजमा सक्नेगरी सम्झौता भएपनि निर्माण सम्पन्न नगरी विद्यालयको भवन बेवारिसे अवस्थामा छाडेर निर्माण व्यवसायी फरार भएका हुन्। विद्यालयको भवन समयमा निर्माण सम्पन्न नगर्नाले विद्यार्थीहरुको पठनपाठनमा ठूलो असर परेको अभिभावक तथा शिक्षकहरुले गुनासो गरेका छन्।

निर्माणाधिन विद्यालयको २० कोठे भवनका लागि २ तला ढलान गरिएको छ। कुल कामको २५ प्रतिशत काम बाँकी रहेको छ। उनले रकम भुक्तानी लैजान पनि कुल रकमको २५ प्रतिशत बाँकी रहेको छ। ठेकेदार तत्काल सम्पर्कमा आएर निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने माग विद्यालयले रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell