PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी शुरु



तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व भुक्तानी शुरु

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अनलाइन प्रणालीबाट राजस्व संकलन शुरु गरिएको छ। यो सेवासँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने भएको छ। नगरपालिकाले शुरु गरेको डिजिटल प्रविधिको मंगलवार एक समारोहका बीच नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे।

नगरपालिकाले सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो। योसँगै स्थानीय तहलाई बुझाउनु पर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ। राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको नगर प्रमुख घिमिरेले बताए।

कर तिर्न लाइन बस्नैपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु सहज हुने उनको भनाइ छ। अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन समेत सहज हुनेछ। यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्यांक पनि आउने र यसले योजना निर्माणलाई पनि सहज बनाउने नगरपालिकाको विश्वास छ।

करदाताले कर तिर्न ई-पोर्टलमा विवरण भरेर दर्ता हुनुपर्छ। त्यसपछि ‘ई-सेवा’ र ‘खल्ती’ डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिनेछ। यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ। यो प्रणाली शुरु गर्न करदाता पहिलो एक पटक वडा कार्यालयमा गएर विवरणहरु अद्यावधिक गराउनुपर्छ। त्यसपछि घरमै बसेर सेवा लिन सकिनेछ।

सहभागितामुलक र पारदर्शी राजस्व प्रणाली विकास गर्दै जान शुरु गरिएको प्रणालीले स्मार्ट नगरको एउटा सूचक पूरा गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको भनाइ छ। उनले नगरपालिका करदाताप्रति उत्तरदायी छन् भन्ने कुरा अनुभुति गराउने गरी अनलाइन राजस्व शुरु गरिएको र यसले सुशासनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। अनलाइन भुक्तानीबाट करदाताको डाटाबेस तयार हुने र आउँदा वर्षहरुका लागि राजस्व अनुमानलाई वास्तविक बनाउने उनको भनाइ छ।

करदाताको विवरण ई-पोर्टलमा दर्ता गरिसकेपछि आन्तरिक संकेत र करदाता कोड प्राप्त हुन्छ। सोही कोडका आधारमा पछिल्लो पटक मोबाइलबाटै कर तथा दस्तुर तिर्न मिल्छ। यस प्रणालीमा २ वटा पोर्टल छन्। एउटा पब्लिक र अर्को कोर। पब्लिक पोर्टल करदाताका लागि हो भने कोर पोर्टल कार्यालयमा बस्ने अधिकारीका लागि हो। पब्लिक पोर्टलमा करदाताले आफू सम्बन्धित घर-जग्गा, सम्पत्ति, व्यवसाय जस्ता व्यक्तिगत विवरण हुन्छन्। यस पोर्टलबाट नगरले उठाउने सम्पूर्ण कर र दस्तुरको दर थाहा पाउन सकिन्छ।

पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्नका लागि हुन्। यसमा करदाताले नगरलाई बुझाउनु पर्ने करको प्रारम्भिक मुल्यांकन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ। करदातासँग सम्बन्धित र सोधिएका/माग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्यांकन गरेर तिर्नुपर्ने राजस्वको अंक देखाउँछ। यसबाट नगरलाई कति रकम तिर्नु पर्ने हो? करदातालाई थाहा हुने सूचना प्रविधि अधिकृत सुदीप ढकालले जानकारी दिए।

करदाताको विवरण पेस भएपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा स्वचालित प्रणालीबाट तयार भएको कर विवरणलाई रुजु र स्वीकृत गर्नेछन्। त्यसपछि करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्न सक्नेछन्। यसरी भुक्तानी गरिएको रकम सम्बन्धी सूचना एसएमएसबाट पनि प्राप्त हुनेछ।

यसैबीच, तिलोत्तमा नगरपालिकाले मंगलवार नै सेवा प्रवाह सम्बन्धी विभिन्न सफ्टवेयर तथा एप्लिकेसनहरु सार्वजनिक गरेको छ। नगरपालिकाले अनलाइन राजस्वसहित ई-पेमेन्ट, अनलाइन सिफारिस, कर्मचारी व्यवस्थापन अनुगमन तथा मूल्यांकन सिष्टम, टुरिजम एप, सम्पूर्ण सामुदायिक विद्यालयहरुमा मोबाइल एप्लिकेशन, हेल्लो मेयर सिष्टम, डकुमेन्ट व्यवस्थापन सिष्टम, नगरपालिका मोबाइल एप, सेन्ट्रलाइज्ड सिष्टम लन्चिङ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell