काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे छलफल भएको छ। सांसदको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे कानुनी परामर्श थाल्ने कुरा भएको सांसद मेटमणी चौधरीले जानकारी दिए।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको कारबाही र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा उनीहरु बीच छलफल भएको हो। ओली पक्षले स्पष्टीकरण सोधेको भनिएपछि पत्र भने आफूहरुसम्म नआइपुगेको उनले बताए। त्यस्तै, भेलामा ओलीविनाको पार्टी कसरी बनाउन सकिन्छ भनेर पनि छलफल भएको चौधरीले बताए।
यसैगरी, ओली पक्षका थप ७ जना नेपाल पक्षमा आउनका लागि सम्पर्कमा रहेको विरोध खतिवडाले दावी गरेका छन्।
सांसदहरुसँग छलफल गर्नुअघि नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए।
सोमवार बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्णय विपरित शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। यद्यपि, उक्त स्पष्टीकरणको पत्र हालसम्म पनि सम्बन्धित सांसदहरुलाई पठाइएको छैन।