PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रधानमन्त्री देउवालाई बाढीग्रस्त हेलम्बु - मेलम्ची क्षेत्रको अवलोकन गर्न प्रदेश सांसदको आग्रह



प्रधानमन्त्री देउवालाई बाढीग्रस्त हेलम्बु - मेलम्ची क्षेत्रको अवलोकन गर्न प्रदेश सांसदको आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमणको लागि निम्तो दिइएको छ। सिन्धुपालचोकबाट वाग्मती प्रदेश सभा सदस्य निमा लामाले जिल्लाको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका लागि देउवालाई अनुरोध गरेका हुन्।

बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सांसद लामाले देउवालाई पाँच बुँदे अनुरोध पत्रसमेत बुझाए। 'बाढीग्रस्त क्षेत्रको अवलोकन गरि उक्त क्षेत्रमा पुनर्निमाण कार्यक्रमलाई तीव्रता दिनका लागि हौसला प्रदान गरिदिनुहुन यस क्षेत्रका जनताको तर्फबाट र मेरोतर्फबाट पनि हार्दिक अनुरोध छ,' लामाले देउवालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ।

सांसद लामाले असार १ गतेको पहिरोले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका र मेलम्ची नगरपालिकामा रहेको नदीको तटीय क्षेत्रमा पहिरो र बाढीले व्यापक क्षति गरेपछि देउवा क्याबिनेटबाट जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेकोमा धन्यवादसमेत दिएका छन्।

ओली सरकारले वेवास्ता गरेको क्षेत्रमा देउवाले विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो।

'अघिल्लो प्रधानमन्त्री केपी शर्मा ओलीले यस क्षेत्रको पीडामा कुनै सरोकार राख्नुभएन। यस क्षेत्रको बारेमा वनग्मती प्रदेशको प्रदेश सभा बैठकमा मैले आवाज उठाएसँगै उहाँ असार २६ मा मेलम्ची र हेलम्बु क्षेत्र त पुग्नुभयो तर त्यहाँ स्थानीयलाई प्रत्यक्ष सरकारी राहत केही पनि घोषणा गर्नुभएन,' लामाले भनेका छन्, 'तीनै स्थानीय तहका सरकार कांग्रेस र माधव नेपाल पक्षको रहेकाले ओली सरकारले ध्यान नदिएको सर्वबिदितै छ। त्यस्तै प्रदेश सभाको सांसद म स्वयं पनि नेपाली कांग्रेसकै रहेकाले प्रदेश सरकारको पनि ध्यान गएन।'

ओली बाढी आएको २६ दिनपछि मेलम्ची क्षेत्र पुगेको थियो।

त्यसैगरी सांसद लामाले उक्त क्षेत्रमा खोप कार्यक्रम पनि उच्च प्राथमिकतामा राख्न अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell