कोभिड १९ को डेल्टा भेरियन्टविरुद्ध जोन्सन एन्ड जोन्सनको खोप कम प्रभावकारी भएको अध्ययनले देखाएको छ। डेल्टा भेरियन्टविरुद्ध लड्न यो खोप ३३ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनमा उल्लेख छ।
द न्यूयोर्क टाइम्सका अनुसार उक्त अध्ययनको निष्कर्ष प्रयोगशालामा रगतको नमुना परीक्षण गरि सार्वजनिक गरिएको हो। हालै सार्वजनिक भएको अध्ययनको थप वैज्ञानिक अनुसन्धान हुन बांकी छ र वैज्ञानिक जर्नलमा पनि प्रकाशित भएको छैन।
जोन्सन एन्ड जोन्सन 'सिंगल डोज भ्याक्सिन' हो। यद्यपि, अध्ययनले जोन्सन एन्ड जोन्सनको पहिलो डोज लगाएका व्यक्तिले दोस्रो दोज पनि लगाउनुपर्ने निष्कर्ष निकालेको छ।
जोन्सन एन्ड जोन्सनले गत महिनामात्रै गरेको अध्ययनको निष्कर्षभन्दा अहिले सार्वजनिक भएको रिपोर्टको तथ्यहरु फरक रहेको छ। जोन्सन एन्ड जोन्सनले गरेको अध्ययनमा यो भ्याक्सिन कोभिड १९ भेरियन्टविरुद्ध ८ महिनासम्म प्रभावकारी रहेको उल्लेख थियो।
अध्ययनको नेतृत्व गरेका ग्रसम्यान स्कुल अफ मेडिसिनका भाइरोलोजिस्ट नाथेनिल लनडउले आफूहरुको उद्धेश्य कसैलाई पनि जोन्सनको भ्याक्सिन लगाउनबाट रोक्नु नभएको बताएका छन्। उनले यो अध्ययनले भ्याक्सिन निर्माण कम्पनीले भ्याक्सिनलाई मोडर्ना र फाइजरसँग 'बुस्ट' गर्न सक्ने बताएका छन्। साथै भ्याक्सिनलाई 'सिंगल डोज'बाट 'टु डोज' बनाउन पनि उनले सुझाव दिएका छन्।
भाइरोलोजिस्ट जोन मोरेले पनि जोन्सन एन्ड जोन्सन 'टु डोज भ्याक्सिन' हुनुपर्ने बताएका छन्। उनले यो भ्याक्सिनको एउटा डोजभन्दा दुई डोज लगाएका व्यक्तिहरुमा प्रभावकारिता बढी देखिएको बताए।
यो अध्ययन रिपोर्ट तयार पार्ने विज्ञहरुको कुनै पनि भ्याक्सिन निर्माण कम्पनीसँग सम्बन्ध नरहेकोले पनि विश्वस्निय रहेको दाबी गरिएको छ। तर, यो अध्ययनले रोग प्रतिरोधात्मक क्षमताको बारे भने केही नबोलेको बताइएको छ।
अमेरिकाको फुड एन्ड ड्रग एन्मिनिस्ट्रेशनले भने सिंगल डोज लगाइसकेकाले फेरि अर्को डोज लगायन नपर्ने बताएको छ।
हाल कोभिड १९ को डेल्टा भेरियन्टका कारण फेरि विश्वका अधिकांश देखिमण संक्रमण दर बढ्दै गएको छ।
अमेरिकाले नेपाललाई कोभ्याक्स मार्फत १५ लाख जोन्सन एन्ड जोनसनको खोप सहयोग गरेको छ। हाल देशभर यो खोप दिन सुरु गरिएको छ।