PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टोकियोबाट वामदेव गौतमलाई आउँदै यस्तो गिफ्ट !



रवीन्द्र मानन्धर

टोकियोबाट वामदेव गौतमलाई आउँदै यस्तो गिफ्ट !

राजनीतिको खेलकुद सधैं चलेकै। त्यही बिचमा पर्‍यो ओलम्पिक। त्यो पनि जापानमा। खेलाडी बरु छुटुन्, खेलाडीका प्रशिक्षक छुटुन्, यसो विज्ञप्ति निकालेर कुरा मिलाम्ला, तर राजनीति गर्ने छुट्न भएन के! सँधैको झैँ त हो नि यस पटकको ओलम्पिक पनि।

मरीमरी अभ्यास गर्ने खेलाडी ओलम्पिक जानबाट छुटे, खेलाडीलाई सिकाउने प्रशिक्षक कोरोना देखाएर छुटे। तर, अमेरिकामा भएका पदाधिकारी छुटेनन्। उतैउतै पुगे जापान।

भत्ता के भत्ता! भ्रमण पनि।

ओलम्पिक महात्म्य यतिमै कहाँ सकिन्छ र ? प्रतिनिधिसभामा 'गठबन्धन' र 'ठग बन्धन' बनाउँदा बनाउँदै विश्वासको मत दिन थाल्ने कि जापान जाने? दोधारले सांसदलाई पर्नु पीर पार्‍यो। खैर, जापान त छाड्न भएन - यता भर्सेलामा परोस् राजनीति।

राजनीति यस्तो कि आफ्नै नेतृत्वको संघलाई समय दिन भ्याएको नाई। नभ्याए पछि के गर्नु त? कतै साइनो नपर्ने संघको नेतृत्व लिएरै भए पनि जापान चै छाडिएन। यस्तो राजनीति खेलकुदको फिल्डमा पनि हुँदो हो त क्रिकेटका प्रतियोगिता भटाभट स्थगित भएको झोँकमा ज्ञानेन्द्र मल्लले फुटबलको कप्तानी गर्थे होला। सागपछि बास्केटबलको प्रतियोगिता नभएर हैरान भएर बसेकी सदीना श्रेष्ठले भलिबलको कप्तानी गर्दै खेल्थिन् कि?

खेलकुदको 'फिल्ड'मा त त्यसो नहोला। नत्र खेलकुदको फिल्ड छाडेर खेलकुदको राजनीतिमा घुस्ने हो भने चाहिँ जसो गरे नि मिल्छ। कबड्डी संघका अध्यक्षले जुडोको नेतृत्व गरेर जान मिल्दो रहेछ, हाम्रो नेपालमा। ओलम्पिक कमिटीको फलानो सदस्यले सम्बन्धै नभएको फलानो संघबाट जान मिल्छ।

धन्न! अहिले खेलकुद मन्त्री प्रधानमन्त्री देउवाले बनाइसकेका छैनन्, नत्र कुन खेलको प्रशिक्षकको कोटामा पठाइदिने थिए, राम जाने।

नेपाली राजनीतिमा 'त्रिशंकु' शक्तिकै सहायतामै सही, जापान पुगे पनि यसपटक सपिङ गर्न नपाउनुको पीडा कम्ता छ? बाहिरफेर घुम्न जान पनि नपाइने। बोर हुने'भो, खेलै हेरेर फर्किनुपर्ने भयो। अनि गिफ्ट ल्याइदिन नि नसकिने !

विचरा वामदेवले गिफ्ट खै भने भने? के भन्ने ? जुडो किक गिफ्ट दिने? 

'आफैँ त महादेव, उत्तानो टाँङ, कसले देला बर?' भनेको यही त होला। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell