PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

विप्लव र प्रधानमन्त्री देउवाबीच भेट, ओली सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग



विप्लव र प्रधानमन्त्री देउवाबीच भेट, ओली सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। विप्लवले आज अपराह्न प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।

भेटका क्रममा विप्लव र देउवाबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। सो क्रममा विप्लवले केपी ओली सरकारसँग नेकपाले गत फागुन २१ गते तीन बुँदे सहमति गरेको भन्दै उक्त सहमति कार्यान्वयन गर्न माग गरेका थिए।

विप्लवले सहमति अनुसार जेलमा रहेका नेकपाका नेताहरुको रिहाइ गर्नुपर्ने तथा झुठा मुद्दाहरु खारेज गर्नुपर्ने माग गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले आफू सो सहमति कार्यान्वयन गर्न सकारात्मक रहेको बताएको भेटमा सहभागी नेकपाका नेताले बताए।

सो अवसरमा नेकपाका प्रवक्ता प्रकाण्ड र केन्द्रीय सचिवालय सदस्य कञ्चन सहभागी रहेका थिए। विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। यसअघि उनले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायतसँग पनि भेट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell