PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१६ बैंकमा ह्याकरको पत्र आतंक, राष्ट्र बैंकका प्रवक्तालाई फोनबाटै धम्की!



१६ बैंकमा ह्याकरको पत्र आतंक, राष्ट्र बैंकका प्रवक्तालाई फोनबाटै धम्की!

काठमाडौं : नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई बिहीवार बिहान ७ बजेतिर एउटा अन्तर्राष्ट्रिय कल आयो।

'योर सिस्टम ह्याज बिन ह्याक्' यति भनेर फोन काटियो।

अघिल्लो दिन नै ह्याकरले पठाएको पत्र भन्दै बैंकिङ क्षेत्रमा 'भाइरल' भइसकेको थियो। त्यही भएर ढकालले हतारहतार आफ्नो आइटी (सूचना प्रविधि) विभागलाई फोन कलका बारेमा जानकारी गराए।

अहिले बैंकिङ क्षेत्रमा ह्याकरको पत्र भन्दै आतंक फैलिएको छ। पत्रमा नेपाल राष्ट्र बैंकसहित १६ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की दिइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, पत्र रुसको डोमेन प्रयोग गरेर पठाइएको छ।

पत्रमा बैंकिङ प्रणाली ह्याक गरेर पैसा चोर्ने कुरालाई 'मजाक' को रुपमा नलिन भनिएको छ।

तीन जनालाई उल्लेख गर्दै इमेल गरेको देखिन्छ। त्यसमध्ये प्रवक्ता ढकाल र राष्ट्र बैंककै सहायक प्रवक्ता नारायणप्रसाद पोखरेललाई इमेल गरिएको उल्लेख छ। अर्को अनिल शाहलाई।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका शाहको इमेल ठेगाना गलत देखिन्छ। ढकाल र पोखरेलको सही भए पनि अहिलेसम्म इमेलमा पत्र भने आइनसकेको बताएका छन्।

'सबैलाई सचेत हुन भनिएको छ,' ढकालले भने, 'हामी अनुसन्धान गरिरहेका छौं।'

पत्र भाइरल भएपछि नाम उल्लेख भएका बैंकहरुले रातभरी नै कर्मचारी राखेर प्रणाली निगरानी गरिरहेका छन्। अहिले पनि प्रणाली पुरै निगरानीमा रहेको बैंकरहरुले बताए।

ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell