PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपनि मकवानपुरमा घटेन लैगिक हिंसा



चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपनि मकवानपुरमा घटेन लैगिक हिंसा

हेटौँडा : लैंगिक हिंसाविरुद्धमा सरकारी एवं गैरसरकारी संस्थाहरुले चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपनि मकवानपुरमा वर्षेनी लैंगिक हिंसाका घटनाहरु बृद्धि भइरहेका छन्। सरकारले लैंगिक हिंसालाई निरुत्साहित गर्नका लागि कानुनहरु कडा बनाएको भएपनि लैंगिक हिसाका घटनाहरुमा न्यूनीकरण भएको छैन।

पछिल्लो समय मकवानपुरमा लैंगिक हिंसाका घटना बढ्दै गएका छन्। लैंगिक हिंसा पीडितको परामर्श र उपचार गर्दै आएको हेटौँडा अस्पतालमा स्थापित एकद्वार संकट व्यवस्थापन केन्द्रको तथ्यांकले लैंगिक हिंसा बढ्दै गएको देखाएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा ३ सय ५८ वटा हिंसाका घटनाहरु भएका छन्। जसमा महिला ३ सय ३० जना र पुरुष २८ जना रहेका छन्।

१ वर्षको अवधिमा ९७ वटा बलात्कारका घटना

मकवानपुरमा गत वर्ष बलात्कार घटना मात्रै ९७ वटा भएका छन्। बलात्कारका घटना श्रावण महिनामा ६, भदौमा ३, असोजमा ९, कात्तिकमा ७, मंसिरमा ८, माघमा ५, फागुनमा ११ र सबै भन्दा बढी कोरोनाको समय चैत महिनामा १४ वटा घटना भएका छन्। त्यस्तै, बैशाखमा १०, जेठमा ७ र असारमा ११ वटा घटना घटेको एकद्वार संकट व्यवस्थापन केन्द्र हेटौँडाले जनाएको छ।

यसैगरी, यौनजन्य घटना १८ वटा भएका छन्। शारिरीक सम्बन्धी घटना १ सय १६ भएका छन्। जबरजस्ती विवाह (बेचविखन)का घटना २० वटा भएका छन्। घरेलु हिंसा सम्बन्धी २८ वटा घटना भएका छन्।

त्यस्तै, मानसिक सम्बन्धी १० वटा घटना भएका छन्। र, अन्यमा ८१ वटा घटना दर्ता भएको एकद्वार संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन अर्मिता श्रेष्ठले जानकारी दिइन्। लैंगिक हिंसामा परेकाहरु हेटौँडा उपमहानगरपालिका भित्रका १ सय ९२ जना छन्। विभिन्न गाउँपालिकाका १ सय ४६ जना रहेको श्रेष्ठले बताइन्।

केन्द्रका फोकल पर्सन श्रेष्ठले बलत्कार, जबरजस्ती विवाह, पितृसत्तात्मक सोँच, लैंगिङ विभेद, मनोवैज्ञानिक असर तथा आफन्त लगायतका कारण लैंगिक हिंसा हुँदै आएको तर्क गरिन्। केन्द्रमा ३ वर्षदेखि ९६ वर्ष उमेर समूहका महिला तथा पुरुष हिंसामा पर्दै आएको तथ्यांकले देखाएको छ।

‘लैंगिक हिंसामा परेकालाई उद्धार, परामर्श र औषधि उपचारदेखि पुनर्स्थापनासम्मको काम गर्ने गरेका छौँ,’ श्रेष्ठले भनिन्।

महिला तथा पुरुषले भोगेको हिंसामध्ये ३ प्रतिशतमात्र कानुनी प्रकृयामा जाने गरेको श्रेष्ठले जानकारी गराइन्। लैंगिक हिंसामा पर्ने अधिकांश दलित तथा न्यून वर्गका महिलाहरु रहेको श्रेष्ठले जानकारी दिइन्। लैंगिक हिंसा लिंगका आधारमा हुने हिंसा हो। यो विश्वका धेरै समाजमा प्राचीनकालदेखि नै समस्याका रुपमा देखिँदै आएको छ।

केन्द्रले हिंसामा परेका महिलाहरुलाई उपचार गर्नुको साथै मनोपरामर्श समेत दिने गरेको छ। पीडितको मनोबल उठाउन केन्द्रका कर्मचारीहरुले काउन्सिलिङ पनि गर्ने गरेका छन्। केन्द्रमा उपचार गरेको हिंसा पीडितहरुका नाम सार्वजनिक गरिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell