PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

प्रदेश २ मा गत वर्ष ३९८३ वटा सवारी दुर्घटना : ५२३ जनाको मृत्यु, ६ हजार जना घाइते



प्रदेश २ मा गत वर्ष ३९८३ वटा सवारी दुर्घटना : ५२३ जनाको मृत्यु, ६ हजार जना घाइते

वीरगंज : प्रदेश २ मा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परि ५२३ जनाको मत्यु भएको छ। पर्सादेखि सप्तरीसम्म ८ जिल्लामा ३ हजार ९८३ वटा सवारी दुर्घटना भएका छन्।

गत आवको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएका छन्। ती दुर्घटनामा ५ हजार ८११ वटा सवारी साधन परेका थिए। त्यसैगरी, प्रदेश ट्राफिक प्रहरी कार्यालयले गत आवमा १९ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी हिमालय श्रेष्ठले बताए। भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि उनले बताए। चालक तथा सर्वसाधारणलाई सवारी सम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकारी डीएसपी सन्तुलाल जैसवालले बताए।

बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढीको सहभागिता रहेको पनि जैसवालले जानकारी गराएका छन्। ट्राफिक प्रहरीले गत आवमा १०६ वटा चोरी तथा भन्सार छलीका सवारी साधन बरामद गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ। तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।

७८ वटा मोटरसाइकल, २४ वटा जीपकार, ३ वटा डीजे रथ र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको श्रेष्ठले बताए। कारबाहीका लागि पठाइएका यस्ता सवारी साधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको उनले बताए।

बढी भाडा लिनेलाई धमाधम कारबाही

चालु आव २०७८/७९ को सुरूवातसँगै यात्रुसित बढी भाडा असुल्ने सवारी साधनमाथि कारबाही तीव्र पारिएको छ। कोरोना महामारीका कारण सवारीका साधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएको भन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकिङ तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ।

प्रदेश ट्राफिकले यही साउनको २ र ४ गते गरेको चेकिङका क्रममा ३० ओटा सवारी साधनले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको भेटिएको प्रहरी नायव उपरीक्षक जैसवालले जानकारी दिए।

सवारी सञ्चालकले लिएको बढी भाडा यात्रुलाई फिर्ता गराइएको पनि उनले बताए। बढी भाडा असुल्ने सवारी साधनलाई जरिबाना तिराएर छोडिएको ट्राफिक प्रहरीले बताएको छ। सरकारले हालै भाडा समायोजनमार्फत अन्तरप्रदेश सवारी भाडादर २८ प्रतिशत र ढुवानीमा २६ प्रतिशतसम्म भाडा बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell