PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

कांग्रेसको सफ्ट्वेयरमाथि जिल्ला सभापतिहरुको आशंका, 'प्रक्रिया नपुगेका संस्थापन पक्षको नाम एकतर्फी इन्ट्री भयो'



कांग्रेसको सफ्ट्वेयरमाथि जिल्ला सभापतिहरुको आशंका, 'प्रक्रिया नपुगेका संस्थापन पक्षको नाम एकतर्फी इन्ट्री भयो'

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु र महासमिति सदस्यहरुले कांग्रेसले प्रयोगमा ल्याएको सफ्ट्वेयर प्रणाली दुरुपयोगको खतरा बढेको आरोप लगाएका छन्। सोमवार काठमाडौंमा उपलब्ध जिल्ला सभापति एवं महासमिति सदस्यहरुको तर्फबाट विज्ञप्ति जारी गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन्।

प्रक्रिया र विधि पुगेका नाम इन्ट्रीबाट हटाइएको र संस्थापनको स्वार्थलाई केन्द्रमा राखेर सिफारिस नै नभएका नाम इन्ट्री भएको दाबी गरिएको छ। सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पक्षकालाई धमाधम इन्ट्री दिएको उनीहरुको आरोप छ। 'सफ्टवेयर प्रयोगको सकारात्मक प्रयत्नमाथि एकतर्फी रुपबाट दुरुपयोगको खतरा झनै बढ्दै गएको छ,' नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले जारी गरेको उक्त विज्ञप्तिमा भनिएको छ, 'पार्टी संस्थापनको दवाव र प्रभावका आधारमा वडादेखि प्रकृयागत रुपबाट आएका नामावलीको अलावा पनि नामहरु इन्ट्री भएको, प्रक्रिया पुगेका कतिपय नामहरु हटाइएको, शतप्रतिशतभन्दा बढी समेत इन्ट्री भएको, समायोजनका नाममा विधि र औचित्य नाघेर निर्णय भएको, ठाऊँ हेरी समान प्रकृतिका समस्यामा विपरित निर्णय भएको र समग्रमा पार्टी संस्थापनको स्वार्थलाई केन्द्रविन्दुमा राखेर पक्षपातपूर्ण काम भैरहेको छ।'

क्रियाशील छानबिनको नाममा अनियमितताको सीमा नाघ्यो

कांग्रेसले भोलि हुने वडा तहको अधिवेशन स्थगित गरेको छ। यस विषयमा जिल्ला सभापतिहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तो कदमले पार्टीको लोकतान्त्रिक छविमा आघात पुगेको उनीहरुको ठहर छ। 'नेपाली कांग्रेसका लाखौं क्रियाशील सदस्यले ब्यग्र प्रतिक्षा गरेको पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका स्थगित गरिएको खबर प्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ। यसप्रकारको कदमले पार्टीको लोकतान्त्रिक छवीमा असामान्य आघात पुगेको र नयाँ पुराना सम्पूर्ण पार्टी सदस्यको चाहना अनुरुप सबैखाले चुनौतीको सामना गर्नसक्ने नीति र नेताबारे निर्णय गर्ने ऐतिहासिक अवसरबाट पार्टी चुकेको छ,' विज्ञप्तिमा भनिएको छ।

त्यसैगरी उनीहरुले क्रियाशील सदस्यता छानबिनको नाममा अनियमितताले सीमा नाघेको आरोपसमेत लगाएको छ। 'विधान विपरीत छ्यापछ्याप्ति विना मापदण्डका नियुक्ति पत्रहरु बाँड्दै हिडेको, पार्टीमा लामो समय काम गरेका नेता एवं सदस्यहरुको अपमान तथा तेजोवध गरेको र अराजनीतिक आधार एवं स्वार्थको जगमा  राजनीतिक अवसर र भूमिका प्रदान गरिएका बर्गेल्ती घटनाहरुले देसभरिका साथीहरुको मन कुँडिइरहेको बेलामा अहिले महाधिवेशनको मुखमा आएर क्रियाशील सदस्यता छानवीनका नाममा अनियमितताले सीमा नाघेको छ।'

उनीहरुले विधानको धारा ४ को उपधारा ८ ग मा उल्लेखित“क्रियाशील सदस्यता प्रारम्भिक छानवीन समिति” को अधिकारमाथि ठाडो हस्तक्षेप गरेर षड्यन्त्रपूर्वक सोझै “केन्द्रीय क्रियाशील सदस्यता छानवीन समिति” मा उजुरी राख्न सूचना निकालिएको दाबी गरेका छन्। 'सबै अधिकारलाई केन्द्रीकरण गर्ने र आफुखुसी हेराफेरी गर्ने डरलाग्दो श्रृंखला जारी छ,' विज्ञप्तिमा भनिएको छ।

विधान र मापदण्ड विपरित क्रियाशील सदस्यता थोपरिएमा हुनसक्ने कुनैपनि दुष्परिणामका प्रति स्वयं नेतृत्व जिम्मेवार रहने चेतावनीसमेत उनीहरुले दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell