PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'बल्छी धुर्बे' ले ल्याए तीज गीत, कलाकारितासँगै गायनलाई पनि निरन्तरता दिने



 'बल्छी धुर्बे' ले ल्याए तीज गीत, कलाकारितासँगै गायनलाई पनि निरन्तरता दिने

काठमाडौं : हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ गायनमा समेत सक्रिय हुन थालेका छन्। श्रेष्ठको स्वर रहेको नयाँ तीज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ।

मरिचमानले आफूलाई पहिलेदेखि नै गीतसंगीतमा निकै झुकाव रहेको बताए। गीतसंगीतमा नै करियर बनाउन काठमाडौं आएको उनी बताउँछन्। ललितकला क्याम्पसमा प्लस टु पढ्दै गर्दा संगीत विषय समेत उनले पढेका थिए। तर केदार घिमिरे (माग्ने बुढा) सँगको भेटपछि उनको सपना अन्तै मोडियो।

उनले हाँस्य टेलिश्रृंखला 'मेरि बाँस्सै' मा काम पाए। जसमा उनले निभाउने पात्रको नाम ‘बल्छी धुर्बे’ थियो। त्यही पात्र नै उनको चिनारी बन्न पुग्यो। त्यसपछि उनी अभिनयमा नै व्यस्त हुन थाले।

अभिनय क्षेत्रमा राम्रै चर्चा पाए पनि उनले संगीत सिक्ने चाहना भने मार्न सकेनन्। कलाकारितामा जम्दै गर्दा आफूले संगीत गुरु चन्द्रन लाल श्रेष्ठसँग पाँच वर्ष शास्त्रीय संगीत सिकेको समेत उनी बताउँछन्। जसले उनलाई संगीतप्रति थप लगाव बढायो।

'कलाकारितामा लागे पनि म भित्र गीत गाउने चाहना भने बाँकी नै थियो। अब कलाकारितासँगसँगै गायनमा समेतमा समेत निरन्तरता दिने सोच बनाएको छु। वर्षमा तीन/चार वटा गीत निकाल्ने योजना बनाएको छु।' उनले भने।

श्रेष्ठले ६ वर्षअघि पनि 'टाढा छैनौँ जस्तो लाग्छ' बोलको गीतमा समेत स्वर भरिसकेका छन्। उनी अहिले टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार तथा निर्देशकको रुपमा समेत रहेका छन्।

तीज गीत ‘पारिवन हरियो’ मा श्रेष्ठलाई गायिका सपना पौडेलले साथ दिएकी छिन्। गीतमा लय, शब्द र संगीत पौडेलको रहेको छ।

गीतको भिडियोमा बल्छी धुर्बेका साथै राजु पौडेल, सपना पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमिल्सना र सविना आचार्यको अभिनय देख्न सकिन्छ। सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियो दीपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell