PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सवारी साधनको चाप बढेसँगै वाग्मती प्रदेशमा वर्षेनी दुर्घटना पनि बढ्दो



सवारी साधनको चाप बढेसँगै वाग्मती प्रदेशमा वर्षेनी दुर्घटना पनि बढ्दो

हेटौँडा : संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेशमा सवारी दुर्घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा अघिल्लो आव भन्दा बढी सवारी दुर्घटना भएको छ।

दैनिक रुपमा सवारी साधनहरु पनि बढेका छन् भने दुर्घटना पनि त्यही अनुपातमा बृद्धि भएको छ। सडकको अवस्था भने नाजुक बन्दै गएको छ।

वाग्मती प्रदेशमा गत आर्थिक वर्षमा १ हजार ५१२ वटा सवारी दुर्घटनाहरु भएको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा वाग्मती प्रदेशमा ७९३ वटामा सवारी दुर्घटनाहरु भएको थियो। अघिल्लो आवमा भन्दा गत आवमा करिब पाँच सय भन्दा बढी सवारी दुर्घटना भएका हुन्।

प्रदेशको काठमाडौं, ललितपुर र भक्तपुर बाहेका १० जिल्लाका गत आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनामा २ हजार २ सय २० वटा सवारी साधन परेका छन्। जसमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना १ हजार २८ वटा, ५ सय ८० वटा ठूला सवारी र ६ सय १२ वटा अन्य सवारी दुर्घटना भएको छ।

सवारी दुर्घटना हुनेमा सबै भन्दा बढी मोटरसाइकल रहेको छ। मोटरसाइकलको संख्या पनि बढी भएकोले दुर्घटना पनि बढी हुने गरेको छ।

वाग्मती प्रदेशको चितवनमा सबैभन्दा बढी सवारी दुर्घटना भएको तथ्यांकले देखाएको छ। सबै भन्दा कम रसुवामा ९ वटा मात्रै सवारी दुर्घटना भएको छ।

चितवनमा गत आर्थिक वर्ष २०७७/०७८ मा ४३७ वटा सवारी दुर्घटनाहरु भए। त्यस्तै, मकवानपुरमा २५७ वटा, धादिङमा २५५ वटा, सिन्धुलीमा २२१ वटा सवारी दुर्घटना भएका छन।

त्यसैगरी, काभ्रेमा १३४ वटा, दोलखामा ४० वटा, नुवाकोटमा ७० वटा, रामेछापमा ३५ वटा, रसुवामा ९ वटा र सिन्धुपाल्चोकमा ३४ वटा सवारी दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय वाग्मती प्रदेश हेटौँडाका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

३४९ जनाको मृत्यु

प्रदेशमा सवारी दुर्घटनामा परि ३४९ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा सबै भन्दा बढी चितवनमै १२८ जना रहेको छ। सबै भन्दा कम सिन्धुपाल्चोकमा ३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

त्यसैगरी, मकवानपुरमा ६०, धादिङमा ५७, काभ्रेमा २८, सिन्धुपाल्चोकमा ३, नुवाकोटमा १०, रसुवामा ५, दोलखामा १२, रामेछापमा ९ र सिन्धुलीमा ३७ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनामा परि ४ सय ७ जनाको मृत्यु भएको थियो। जसमा अघिल्लो आर्थिक वर्षमा पनि चितवनमै सबैभन्दा बढी १ सय ७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो।

त्यस्तै, अघिल्लो आवमा मकवानपुरमा ६९ जना, धादिङमा ५३ जना, काभ्रेमा ५६ जना, सिन्धुपाल्चोकमा ५० जना, नुवाकोटमा ११ जना, रसुवामा ३ जना, दोलखा र रामेछापमा १२/१२ जना र सिन्धुलीमा ३४ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

२९६ वटा मुद्दा दर्ता

सवारी सम्बन्धी गत आर्थिक वर्ष २०७७/०७८ मा २९६ वटा मुद्दा दर्ता भए। गत आर्थिक वर्षमा चितवनमा १ सय ७ वटा, मकवानपुरमा ५० वटा, काभ्रे र धादिङमा ३७/३७ वटा मुद्दा दर्ता भए।

यसैगरी, सिन्धुलीमा ३१ वटा, नुवाकोटमा १२ वटा, दोलखामा ८ वटा, रामेछापमा ७ वटा, रसुवामा ४ वटा र सिन्धुपाल्चोकमा ३ वटा सवारी दुर्घटनाका मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, आव २०७६/७७ मा ३२४ वटा मुद्दा दर्ता भएको थियो। जसमा चितवनमा ९८, मकवानपुरमा ५७ वटा, काभ्रेमा ६१ वटा, धादिङमा ३९ जना, सिन्धुपाल्चोकमा ९ वटा, सिन्धुलीमा ३४ जना, दोलखामा १२ वटा, रामेछापमा ११ वटा, नुवाकोटमा १० वटा र रसुवामा १ वटा सवारी दुर्घटना सम्बन्धी मुद्दा दर्ता भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell