बुटवल : सिद्धार्थनगर नगर पालिकाको प्रशासकीय भवन स्तुपा शैलीमा निर्माण हुने भएको छ। नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका लागि चालु वर्षमा बजेट विनियोजन गरिसकेको छ। भवन निर्माणका लागि आज निर्माण कम्पनीसँग सम्झौतासमेत भएको नगरपालिकाले जनायो। श्री स्काई रामसागर जेभीले १८ करोड ३७ लाख ४९ हजार ५ सय ३७ रुपैया ५१ पैसामा भवन निर्माण गर्ने सम्झौता गरेको हो।
भवन निर्माणसँग सम्बन्धित संझौतापत्रमा सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरिप्रसाद अधिकारीको उपस्थितीमा प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनी र निर्माण कम्पनि श्री स्काई रामसागर जेभीका प्रतिनिधी रोशन न्यौपानेले हस्ताक्षर गरेका छन्।
भवन अबको २६ महिनाभित्र निर्माण सम्पन्न गर्नु पर्नेछ।
भवन सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ हाल आइयुडिपी आयोजना (हाटबजार करणिमाई मन्दिर नजिकै) निर्माण हुनेछ। ५ तले भवनको अण्डर ग्राउण्डमा पार्किङको व्यवस्था हुनेछ। अन्डरग्राउन्ड पार्किङ ३२ वटा कार र ४० वटा मोटरसाइकल अट्ने गरी निर्माण गरिने नगर पालिका योजना शाखाका प्रमुख जीवन अर्यालले बताए। भवन आधुनिक शैलीमा निर्माण हुने भए पनि पर्यटकीय महत्व झल्कने खालको हुने छ। बुद्धजन्मस्थल लुम्बिनीको प्रवेशद्धारका रुपमा समेत रहेको सिद्धार्थ नगर रहेकाले नगरपालिकाको प्रमुख प्रशासकिय भवन पनि बुद्ध धर्मसँग आधारित गुम्बा, मन्दिरको झल्को दिने खालको हुने नगर प्रमुख अधिकारीले बताए।