PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

विद्युत महसुल घटाउने पक्षमा ऊर्जामन्त्री भुसाल, होला त मूल्य समायोजन ?



विद्युत महसुल घटाउने पक्षमा ऊर्जामन्त्री भुसाल, होला त मूल्य समायोजन ?
तस्‍विर : रासस

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत महसुल घटाउने संकेत गरेकी छन्।

सोमबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री भुसालले देशमा विद्युत उत्पादन बढेकाले महसुल दरमा पुनःविचार गर्नेगरी नीति बनाउने बताएकी हुन्।

'हाम्रोमा विद्युतको दर महँगो छ। सामान्य अर्थशास्त्रअनुसार पनि जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ,' उनले भनिन्, 'उपभोक्ताका रूपमा मैले गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन। विद्युतको दरमा पुनर्विचार गर्नुपर्छ। विद्युत् महसुल समायोजन गर्नुपर्छ।'

गरिबीको रेखामुनी रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने गरी नीति ल्याउन लागेको पनि भुसालले बताइन्।

आर्थिक तथा औद्योगिक विकासका निम्ति पहिलो कच्चा पदार्थ नै ऊर्जा भएकोले नेपालमा उत्पादन भएको विद्युत् नेपालमै खपत गर्न सक्ने गरी विकासका योजनाहरू बनाउने विषयलाई केन्द्रविन्दुमा राख्नुपर्ने उनको भनाइ थियो।

निजी क्षेत्रले ऊर्जा क्षेत्रमा ठूलो लगानी गरकोले निजी क्षेत्रलाई राज्यले अभिभावक बनेर संरक्षण गर्नुपर्ने पनि उनले बताए। सर्वेक्षण र डीपीआर भएका ठूला जलाशययुक्त र अर्ध-जलाशयुक्त आयोजना सरकारले सर्वसाधारणसहित अन्य क्षेत्रबाट लगानी जुटाएर बनाउनुपर्ने निष्कर्षमा आफू पुगेको पनि उनले बताइन।

उत्पादन वृद्धि गर्ने, सस्तो महसुल दर तोक्ने, सहुलियत दिने र उपभोक्ता बढाउनेतर्फ आफू लाग्ने बताउँदै मन्त्री भुसालले डलर तिरेर ल्याएको एलपी ग्यास विस्थापित गर्न सके विद्युतको खपतसँगै उपभोक्ताको संख्या बढ्ने उल्लेख गरिन्।

त्यस्तै उद्योग कलकारखानाको माग सम्बोधन गर्ने र विद्युतीय यातायातलाई जोड दिँदा विद्युत् खपत हुने पनि उनले विश्वास व्यक्त गरिन्।

ऊर्जाको माध्यमबाट सिँचाइमा सहयोग गर्ने नीति आफूले ल्याउने बताउँदै उनले भनिन् 'कृषिमा सिंचाइको सुविधा दिन सक्यो भने पनि ठूलो राहत मिल्छ, डिजेल पेट्रोलका पम्पसेटहरु हामीले चलाउनु पर्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell