काठमाडौं : सरकार विस्तार र पार्टी संगठनबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
माओवादीले स्थायी कमिटीका नेताहरु जनार्दशन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाए पनि अरु मन्त्रीको टुंगो लगाउन सकेको छैन।
सत्तारुढ ५ दलीय गठबन्धनको सहमतिअनुसार माओवादी केन्द्रको भागमा ७ जना मन्त्रालय परेको छ। अब पार्टीले ५ जना मन्त्री छान्नका लागि अध्यक्ष प्रचण्डले छलफल तिब्र पारेका हुन्।
उनले स्थायी कमिटीको बैठक अघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए। पार्टीले मन्त्रीबारे टुंगो लगाउने जिम्मा प्रचण्डलाई दिएको भए पनि आकांक्षी नेताहरुको संख्या धेरै भएपछि माओवादी केन्द्रलाई मन्त्री छान्न सकस भएको छ।
शनिवार पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीका ४९ जना सांसदमध्ये सबैले मन्त्री बन्न खोजेपछि आफू मानसिक तनावमा रहेको बताएका थिए।