PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माधव नेपाल समूह पनि देउवा सरकारमा सहभागी हुने, प्रचण्डले रोके आफ्ना तर्फका मन्त्री छान्ने काम



माधव नेपाल समूह पनि देउवा सरकारमा सहभागी हुने, प्रचण्डले रोके आफ्ना तर्फका मन्त्री छान्ने काम

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारमा सहभागी हुने भएको छ। मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा नेपालले सरकारमा आफ्नो समूह पनि सहभागिता हुने बताएका हुन्।

प्रचण्डले मंगलवार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा नेपाल पक्ष पनि सरकारमा सहभागी हुनेबारेमा स्थायी कमिटीका सदस्यहरुलाई ब्रिफिङ गरेका थिए। माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बारेमा बैठक बोलाइएको भए पनि नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएपछि आफ्नो पार्टीबाट पनि नाम पठाउन केही ढिलाइ हुने प्रचण्डले बताएका थिए। प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको संख्या केही कम हुने नेताहरुलाई ब्रिफिङ गरेका थिए।

'७ जना पाउने भन्ने थियो। नेपाल समूहले पनि सरकारमा सहभागी हुने भनेपछि हेर फेर होला जस्तो छ,' माओवादी केन्द्रका एक जना स्थायी कमिटी सदस्यले भने।

कसलाई मन्त्री बनाउने भन्नेबारेमा भने नेपाल पक्षले टुंगो लगाइ सकेको छैन। 

यस्तै, नेपाल समूहका तर्फबाट एक जना प्रदेश प्रमुख पनि नियुक्त गर्ने तयारी गरिएको बताइएको छ।

प्रचण्डले मन्त्रीबारे टुंगो लगाउन बुधवार फेरी स्थायी कमिटीको बैठक बोलाएका छन्।

नेपालले प्रचण्डसँगको कुराकानीमा सरकारमा सहभागी हुने बताए पनि नेपाल पक्षको आइतवार र सोमबार बसेको स्थायी कमिटीको बैठकले एकताका लागि पहल गर्ने निर्णय गरेको थियो। सोमवारको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण बिग्रिएको भन्दै नेताहरुलाई एकता विरोधी अभिव्यक्ति नदिन आग्रह गर्ने निर्णय गरेको थियो।

एमालेको संसदीय दलको बैठकले यसअघि नै प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell