PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

जिनोमिक पहिचानको लागि दिल्ली पठाइएका सबै नमुना डेल्टा भेरियन्ट भएको पुष्टि



जिनोमिक पहिचानको लागि दिल्ली पठाइएका सबै नमुना डेल्टा भेरियन्ट भएको पुष्टि
Photo: gavi.org

काठमाडौं : जिनोमिक पहिचान (जिनोमिक सेक्वेन्सिङ)को लागि भारतको नयाँ दिल्ली पठाइएका कोरोना भाइरसका सबै नमुना डेल्टा भेरियन्ट भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।

गत जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरू सेक्वेन्सिङको लागि नयाँ दिल्ली पठाइएको थियो।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा नयाँ दिल्लीस्थित ‘ब्ल्यूएचओ आइडेन्टिफाइड सेन्टर फर एक्सिलेन्स इन जिनोमिक्स’, ‘द इन्स्टिच्युट फ जिनोमिक्स एण्ड एन्टेग्रेटिभ बायोलोजी (आइजीआइबी)’मा २०७८ असार ३० गते नमुना पठाइएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त नमुनाहरूको जिनोमिक पहिचान गर्दा सबै नमुनाहरूमा डेल्टा भेरियन्ट पुष्टि भएको छ। जसमध्ये ३ वटामा थप उत्परिवर्तित रुप ‘के४१७एन म्युटेसन’ भेटिएको छ, जसलाई ‘A.Y1’ नाम पनि दिइएको छ।’

योसहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रूपमा अल्फा (B.1.1.7) र डेल्टा भेरियन्ट (B.1.617.2) तथा भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा कप्पा भेरियन्ट (B.1.617.1) पुष्टि भएका छन्। यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयले जनाएको छ।

त्यसकारण संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन अनुरोध गरिएको छ। त्यस्तै, सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell