PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फरार रहेका अफिम कारोबारी ५ महिनापछि प्रहरीको फन्दामा



फरार रहेका अफिम कारोबारी ५ महिनापछि प्रहरीको फन्दामा

वीरगंज : पर्सा प्रहरीले एक जना फरार अफिम कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पटेर्वासुगौली गाउँपालिका-१ सोनवर्षा बस्ने वर्ष ५३ का अमजद मियाँ चुरिहार रहेका छन्।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाको टोलीले सोमवार दिउँसो सोनवर्षामा लुकीछिपी बसेको सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।

उनीमाथि ८ किलो ५० ग्राम अवैध लागुऔषध अफिम बेचेको अभियोग थियो। गत २०७७ असोज २० गते पर्सा प्रहरीको इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले पर्साको कालिकामाई गाउँपालिका-१ तिनडोभियाबाट ८ किलो ५० ग्राम अफिम गोप्य सूचनाको आधारमा बरामद गरेको थियो।

इलाका प्रहरी कार्यालय पोखरीयाको टोलीले त्यस बेला तिनडोभियाका मजेनर राउत कुर्मीको धानको खेतबाट सेतो प्लाष्टिकमा बेरेर फालिएको ८ किलो र सोही टोलका खोभारी प्रसाद कुर्मीको घरमा रहेको सोफा मुनिबाट ५० ग्राम अफिम बरामद भएपछि अनुसन्धान गरेको थियो।

जसमा पक्राउ परेका अमजद, तिनडोभियाका खोभारीका बुवा गम्भीरा राउत कुर्मी, सोही टोलका सैमुल्लाह भनिने मरफि मियाँ र नजिर आलम पनि घटनामा संलग्न देखिएका थिए। भारतीय तस्करको लगानीमा अमजदले कालिकामाई गिरोहलाई अफिल बेचेर भारत तस्करी गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

लुकीछिपी बसिरहेका अन्य फरार अयिभुक्तलाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, पर्सा प्रहरीले अवैध २७ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरी मातहतको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले पटेर्वासुगौली गाउँपालिका-४ भतौडा बस्ने बासुदेव माझीलाई २७ किलो गाँजासहित हिरासतमा लिएको जनाएको छ।

पक्राउ परेका माझीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell